२ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

त्रिभुवन आर्मीलाई महिला हक्कीको उपाधि

विराटनगरमा भएको ‘जिपी कोइराला ५–ए साइड महिला हक्की च्याम्पियनसिप’को उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ। कोशी प्रदेशमा पहिलो पटक जिपी कोइराला स्पोर्ट्स एकेडेमीले आयोजना गरेको ५–ए साइड महिला हक्की प्रतियोगितामा आर्मीले गण्डकी प्रदेशलाई ५–३ गोल अन्तरले हराउँदै उपाधि जितेको हो। 

उपाधिसँगै आर्मीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको गण्डकी प्रदेशले २५ हजार रुपैयाँमा चित्त बुझाएको छ। हक्कीको उपाधि हात पार्ने क्रममा आर्मीकी नीलिमा पाण्डेले ह्याट्रिकसहित ३ गोल गरिन् भने सुनिता नेगीले २ गोलको योगदान दिइन्। गण्डकीका तर्फबाट मयुरी राईले २ र सोनु बरालले १ गोल फर्काए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी आर्मीकी सबिना केसी प्लेयर अफ द टुर्नामेन्ट, मधेस प्रदेशकी लक्ष्मनिया दासले उदीयमान खेलाडीको विधाबाट पुरस्कृत भए।

प्रतियोगितामा आर्मीले आफ्ना सबै ४ खेलमा जित निकाल्दै अपराजित यात्रा तय गरेको थियो। उपविजेता गण्डकीले ४ मध्ये २ खेलमा जित, १ मा हार र १ खेलमा बराबरी खेलेको थियो। यता आयोजक तथा घरेलु टोली कोशी प्रदेश ४ अंकसहित चौथो स्थानमा सीमित भयो।

च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मीसहित कोशी, गण्डकी, मधेस र बागमती प्रदेशका टोलीहरूको सहभागिता रहेको थियो।

विजेता तथा उपविजेता टोली र खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्तराज अर्याल, जीपी कोइराला स्पोट्र्स एकेडेमीका रञ्जन थापा, नेपाल हक्की संघ कोशी प्रदेश अध्यक्ष जीवनराज तिम्सिनालगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

प्रकाशित: २४ जेष्ठ २०८३ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App