त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा महिला सिंगल्सतर्फ उपाधि रक्षा गरेकी छन्।
बालकुमारी रिमिक्स क्लबको आयोजना भएको प्रतियोगितामा पछिल्ला तीनै संस्करणमा उनी च्याम्पियन हुन्। चौथो संस्करणको फाइनलमा रसिलाले शनिबार आफ्नै विभागकी शेस्ना सिर्पालीमाथि जित रचिन्। रिमिक्स क्लबको कभर्डहलमा सम्पन्न फाइनलमा उनी पहिलो सेटमा २२–२० ले पछि परिन्। यद्यपि, रसिलाले उत्कृष्ट पुनरागमन गरिन्। उनले दोस्रो र तेस्रो सेट क्रमशः २१–१५, २१–९ ले आफ्नो पक्षमा पार्दै लगातार चौथो संस्करण च्याम्पियन भइन्। ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन भएको प्रतियोगितामा रसिलाले नगद ५० हजारसहित ट्रफी प्राप्त गरिन्।
शेस्नाले नगद २५ हजारसहित ट्रफी पाइन्। आर्मीकी रिहाना सेरचन र भोजपुरकी नङ्शल तामाङ संयुक्त रूपमा तेस्रो स्थानमा रहे। दुवैले नगद १० हजारसहित ट्रफी पाए। पुरुष सिंगल्समा पनि आर्मीकै प्रफुल महर्जनले उपाधि उचाले। उनले फाइनलमा सप्तरीका विष्णु कटुवालमाथि २१–९, २१–६ को जित निकाल्दै उपाधिपल्ट उपाधि उचालेका हुन्।
विजेताले ५० हजार र उपविजेताले नगद २५ हजारसहित ट्रफी पाए। आर्मीका विधान अधिकारी र एपिएफका क्षितिज खनाल तेस्रो स्थानमा रहे। दुवैले नगद १० हजारसहित ट्रफी पाए। पुरुष युगलमा आर्मीका विधान अधिकारी र पविन लिङ्गथेपको जोडीले उपाधि प्राप्त गरे। यो जोडी लगातार चौथोपल्ट च्याम्पियन हो।
विधान र पविनको जोडीले फाइनलमा आर्मीका प्रफुल महर्जन र टाइम आउटका रुकेश महर्जनको जोडीलाई २१–२३, २१–१७, २१–१८ ले हराए। एपिएफका देवराज राना र प्रनिश सिंह ठकुरीको जोडी तथा तिनचुलीका सुनील कार्की र महेश खड्काको जोडी संयुक्त रूपमा तेस्रो भए। शीर्ष तीन जोडीले क्रमश: ५० हजार, २५ हजार र १० हजारसहित ट्रफी पाए। यु–१७ महिला एकलतर्फ आर्मीकी रिहाना सेरचन च्याम्पियन भइन्। रिहानाले फाइनलमा फिट नेपाल स्पोर्ट्स प्लेक्सकी निभा राईलाई २१–१४, २१–१४ को समान अन्तरले हराइन्। यस विधामा एपिएफकी स्वर्लिन श्रेष्ठ र आर्मीकी समृद्धि श्रेष्ठ संयुक्त रूपमा तेस्रो भए।
यु–१७ पुरुष एकलमा आर्मीका सदीप राईले उपाधिमा नाम लेखाए। उनले फाइनलमा आफ्नै क्लबका प्रतीक बिष्टलाई २१–१९, २१–१५ ले हराए। आर्मीका रिजन महर्जन र सौर्य महर्जनले तेस्रो स्थानमा चित्त बुझाए। शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः नगद २० हजार, १० हजार र पाँच हजारसहित ट्रफी प्राप्त गरे।
मास्टर्स युगल (४५ वर्षमाथि) मा पिस फिटनेश क्लबका संजय कपाली र अनिल थामसुहाङको जोडी च्याम्पियन भयो। यो जोडीले फाइनलमा युनिटी ब्याडमिन्टन क्लका आङकुसाङ शेर्पा र लाक्पा शेर्पाको जोडीमाथि १७–२१, २१–१७, २२–२० को कठिन जित निकाले।
बालकुमारी रिमिक्सका शान्ता डंगोल र ज्ञानु कुमालको जोडी तथा कोटेश्वरका अच्युत बस्नेत र महेश भट्टराईको जोडी संयुक्त रूपमा तेस्रो भए। शीर्ष तीनले क्रमशः नगद ३० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँसहित ट्रफी प्राप्त गरे। विजेतालाई ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यलगायतले पुरस्कृत गरे।
प्रतियोगितामा पुरुष र महिला सिंगल्स खुला, शीर्ष २० वरीयताबाहेक पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ वर्षमाथि मास्टर्स युगल खुला गरी कुल ६ विधामा करिब दुई सय २६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
प्रकाशित: २७ पुस २०८२ ०६:३० आइतबार





