तीन पटकसम्म फाइनल पुगेर पनि उपविजेतामै सीमित भएको नेदरल्यान्ड्सले यसपाली पहिलो पटक विश्वकप जित्ला त ? नेदरल्यान्ड्स विश्व फुटबलमा सहभागी हुने सबै प्रतियोगितामा सधै दाबेदार हैसियतमा रहने टिम हो। तर, टोलीले सन् १९७४ र ७८ मा लगातार फाइनल पुगेर पनि विश्वकप जित्न सकेन। त्यही नियतिले सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा पनि निरन्तरता पायो।
डच टोलीले आइतबार राति एसियाली पावर हाउस जापानसँग प्रतिस्पर्धा गर्दै विश्वकपको यात्रा सुरु गर्दैछ। खेल नेपाली समयअनुसार राति १ः४५ बजे सुरु हुनेछ।
विश्वकपमा नेदरल्यान्ड्स रहेको समूह ‘एफ’ मा जापान, ट्युनिसिया र स्विडेन छन्। सरसर्ती हेर्दा समूहबाट डच टोली विजेताका रुपमा अगाडि बढ्ने देखिन्छ। तर, चार वर्षअघिको कतार विश्वकप २०२२ मा जापानले जर्मनी र स्पेनलाई निराश पारेको नतिजा सम्झने हो भने नेदरल्यान्ड्सको बाटो सहज देखिन्न।
नेदरल्यान्ड्स
सन् १९७० को दशकमा ‘टोटल फुटबल’ को शैली विकास गर्ने नेदरल्यान्ड्स सबै ठूला प्रतियोगितामा सधैको दाबेदार टोली हो। खासगरि डच फुटबलले हरेक कालखण्डमा उत्पादन गर्ने प्रतिभावान खेलाडीहरुको समूहका कारण नेदरल्यान्ड्सलाई विश्व फुटबलको महारथी हैसियत प्रदान गर्छ।
तर, जति राम्रो टिम भए पनि विश्वकपको हकमा यो टोली सधै अभागी सावित हुँदै आएको छ। तीन पटक फाइनलसम्म पुग्दा पनि च्याम्पियन बन्न सकेको छैन। नेदरल्यान्ड्सका लागि तीन पटक फाइनल पुगे पनि उपाधि सधै धेरै टाढाको फल बनिरहेको छ। यस्तो फल, जुन नेदरल्यान्ड्सले कहिल्यै टिप्न सकेन।
यसपाली पनि रोनाल्डो कोम्यानको टोली त्यो फल टिपेर डच फुटबलले लामो समयदेखि गरेको विश्व च्याम्पियन हुने प्रतिक्षामा पूर्णविराम लगाउने अपेक्षा गरिएको छ।
प्रशिक्षकको रुपमा डच टोलीसँग दोस्रो कार्यकाल काम गरिरहेका कोम्यानले नेदरल्यान्ड्सको टिमबाट थुप्रै उपाधि जितेका थिए। १९८८ मा टोलीले युरोपियन च्याम्पियनसिप जित्दा कोम्यान टिमका मुख्य खेलाडी थिए।
यसैगरी सन् २०१९ मा नेदरल्यान्ड्सले नेशन्स लिग जित्दा चाँही कोम्यान टोलीसँग प्रशिक्षकको भूमिकामा पहिलो कार्यकाल बिताइरहेका थिए।
नेदरल्यान्ड्सले प्रिमियर लिगका स्टारहरु भर्जिल भान डाइक, रायन ग्राभेनबर्च, टिजानी रेन्डर्स र कोडी गाक्पोजस्ता खेलाडीलाई विश्व च्याम्पियन बन्ने अभियानको हिस्सा बनाएको छ। तर पछिल्लो पुश्ताका केही शीर्ष खेलाडी चाँही प्रशिक्षक कोम्यानको रोजाईमा परेका छैनन्।
जापान
एसियाली महारथी जापानको विश्वकपमा यो लगातार आठौं सहभागिता हो। समूह चरणबाट माथि उक्लिएको नतिजाका आधारमा यो लगातार तेस्रो सफल विश्वकप हो।
उत्तर अमेरिकाका तीन देशले संयुक्त रुपमा आयोजना गर्न लागेको यो विश्वकपमा आयोजक भएको नाताले अमेरिका, क्यानाडा र मेक्सिकोको सहभागिता सबभन्दा पहिला पक्का भएको थियो।
त्यसपछि छनोट चरणमार्फत विश्वकप २०२६ पुग्ने जापान पहिलो टिम हो। छनोट प्रतियोगितामा आफ्नो समूहका तीन खेल बाँकी रहँदै जापानले उत्तर अमेरिकाको टिकट काटिसकेको थियो।
चार वर्षअघि कतारमा सम्पन्न विश्वकपमा जापानले दुई वटा प्रतियोगिता इतिहासकै ठूला स्तब्धतापूर्ण नतिजा निकालेको थियो। समूह चरणमा टोलीले चार पटकको च्याम्पियन जर्मनी र पूर्व विजेता स्पेनलाई पराजित गरेको थियो। तर जापान अहिलेसम्म विश्वकपमा अन्तिम १६ भन्दा माथि चाँही जान सकेको छैन।
जापानी राष्ट्रिय टिमका अधिकांश खेलाडी युरोपबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। जसका कारण यसपाली पनि कम्तिमा नकआउट चरण पुग्नेमा जापानी समर्थक आशावादी छन्। बायर्न म्युनिखका रक्षक हिरोकी इटो जापानी टोलीका हेर्न लायक खेलाडी हुन्।
प्रकाशित: ३१ जेष्ठ २०८३ १५:२८ आइतबार





