स्पेनिस ला लिगाअन्तर्गत एल्चेविरुद्धको खेलअघि सेउटासँग ऐक्यबद्धता जनाउने सन्देश लेखिएको जर्सीको केही भाग छोपेपछि रियल मड्रिडका किलियन एमबाप्पे, भिनिसियस जुनियर र इब्राहिमा कोनाटे चर्चामा आएका छन्।
मंगलबार राति म्यानुएल मार्टिनेज भालेरो रंगशालामा भएको खेलअघि रियल मड्रिड र एल्चेका सबै खेलाडीले आफ्नो टोलीको जर्सीमाथि ‘तोदोस सोमोस काबायास’ अर्थात् ‘हामी सबै काबायास हौँ’ लेखिएको सेतो जर्सी लगाएका थिए। यो सन्देश स्पेनको उत्तरी अफ्रिकी भूभागमा रहेको सेउटाका बासिन्दाप्रति ऐक्यबद्धता जनाउन प्रयोग गरिएको थियो।
तर मैदान प्रवेश गर्नुअघि एमबाप्पे, भिनिसियस र कोनाटेले सेतो जर्सीलाई छातीसम्म माथि तानेर सन्देशको केही भाग छोपेका थिए। खेलाडीहरूले सुरुआती अभिवादनका क्रममा उक्त जर्सी खोलेका थिए।
यस घटनापछि सामाजिक सञ्जालमा खेलाडीहरूको कदमलाई लिएर फरक-फरक प्रतिक्रिया आएका छन्। केहीले सेउटासँग सम्बन्धित विषयलाई बेवास्ता गरेको भन्दै आलोचना गरेका छन् भने केहीले तीनै खेलाडीले ऐक्यबद्धताको जर्सी लगाएकै कुरालाई सकारात्मक रूपमा लिएका छन्।
‘काबायास’ सेउटाका स्थानीय बासिन्दालाई सम्बोधन गर्न प्रयोग गरिने उपनाम हो। मोरक्कोबाट आप्रवासीको आवागमनसँग जोडिएको विषयका कारण सेउटा पछिल्लो समय स्पेनमा राजनीतिक रूपमा संवेदनशील विषय बनेको छ।
रियल मड्रिडले आफ्नो वेबसाइटमार्फत खेलअघि दुवै टोलीका खेलाडीले सेउटाप्रति ऐक्यबद्धता जनाउन उक्त सन्देश लेखिएको जर्सी लगाएको जनाएको छ। दुवै क्लबले आफ्ना खेलाडीलाई सो जर्सी लगाउन आग्रह गरेका थिए।
खेलअघि खिचिएका सामाजिक सञ्जालका भिडियोमा एमबाप्पे र भिनिसियसले मैदान प्रवेश गर्नुअघि नै सेतो जर्सी माथितिर तानेको देखिन्छ।
प्रकाशित: १ आश्विन २०८३ ०८:१३ बिहीबार





