टिपटो स्पोर्ट्स एकेडेमीको आयोजनामा जेठ २ र ३ गते थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ।
तारकेश्वरस्थित शेषमतीस्थित टिपटो स्पोर्ट्स हबमा प्रतियोगिता आयोजना हुन लागेको हो। शुक्रबार आयोजक टिपटो स्पोर्ट्स एकेडेमीले पत्रकार सम्मेलन गरेर फुटबल खेलको विकास, विस्तार तथा युवा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।
सन् २०२१ मा स्थापना भएको टिपटो स्पोर्ट्स एकेडेमीले विभिन्न प्रशिक्षण कार्यक्रम, फुटबल प्रतियोगिता तथा सामाजिक गतिविधिमार्फत नेपाली फुटबलमा योगदान पुर्याउँदै आएको छ। यसपटकको कार्यक्रम विशेषगरी विभिन्न उमेर समूहका खेलाडीहरूको फुटबल कौशल विकासमा केन्द्रित रहने आयोजकले जनाकारी दिएको छ।
दुई दिने क्लिनिक एन्ड च्याम्पियनसिपमा जेठ २ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म फुटबल क्लिनिक सञ्चालन हुनेछ भने जेठ ३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म च्याम्पियनसिप आयोजना गरिनेछ।
यस कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जापानका राष्ट्रिय थ्री अन थ्री फुटबल खेलाडी यासुहिरो नाबेटा नेपाल आएका छन्। उनले प्रतियोगिताअन्तर्गत सञ्चालन हुने प्रशिक्षण सत्रमा खेलाडीलाई प्रशिक्षण दिने आयोजकले जनाएको छ।
प्रतियोगितामा विद्यालयबाट यू–१२, यू–१४ र यू–१६ उमेर समूहका करिब १५० खेलाडीको सहभागिता रहनेछ। साथै, च्याम्पियनसिपमा यू–१४ र यू–१६ समूहका ३२ टोली सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगिता नकआउट प्रणालीमा सन्चालन हुनेछ।
प्रतियोगितामा सहभागी तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिनेछ।
प्रकाशित: १ जेष्ठ २०८३ १५:३२ शुक्रबार





