२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

पराजित भए तीन ठूला क्लब

ब्रुनो फर्नान्डेजले पेनाल्टी खेर फालेको खेलमा शनिबार ब्रेन्टफोर्डसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रुबेन अमोरिम दबाबमा परेका छन्।

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड शनिबार ब्रेन्टफोर्डसँग ३–१ को हार सामना गरेको थियो, जहाँ पेनाल्टीमा सफल मानिने ब्रुनोले अवसर खेर फाले। अमोरिमको टोली युनाइटेडले खराब प्रदर्शनको मूल्य चुकाउँदा इगोर थियागोले सुरुका २० मिनेटमा नै दुई गोल गरे।

युनाइटेडको रक्षात्मक प्रदर्शनपछि ब्रेन्टफोर्डले त्यसका सदुपयोग गरेको हो। बेन्जामिन सेस्कोले युनाइटेडका लागि पहिलो गोल गर्दै पहिलो हाफ अगाडि क्लबको अन्तर घटाए। युनाइटेडका कप्तान ब्रुनोले खेलमा बराबरी गर्ने अवसर पाए तर दोस्रो हाफको अन्ततिर पाएको त्यो अवसर उनले खेर फाले। ब्रुनोको प्रहार ब्रेन्टफोर्डका गोलकिपर काउमिन केलरले रोकेका हुन्।

खेलको इन्जुरी समयमा म्याथियस जेनसेनले गोल गर्दै ब्रेन्टफोर्डलाई सहज जित दर्ता गराए। ‘हामीले खेललाई आफ्नो नियन्त्रणमा राख्न सकेनौं। पहिलो बल, दोस्रो बल र सेट पिसमा सफल भएन। त्यसले असहज स्थिति हाम्रै कारणले आएको हो,’अमोरिमले भने,‘ लामो पास निस्कन्छन् र उनीहरूले त्यसलाई सदुपयोग गर्न सक्छन् भन्ने थियो। उनीहरूले त्यहीअनुरूप सफलता पनि पाए। अब धेरै राम्रो गर्नुपर्छ। आज हाम्रो खेल खेल्न सकेनौं। यो हार सहज भएन तर आगामी खेलका बारेमा सोच्नेछौं।’

अमोरिम जित निकाल्ने लक्ष्यसहित आएका थिए । यद्यपि, उनको टोलीले सो अनुरूप खेल्न सकेन। यो खराब प्रदर्शनपछि उनी बर्खास्तीमा पनि पर्न सक्छन्।

गत नोभेम्बरमा एरिक टेन हागको स्थानमा अमोरिम स्पोर्टिङ लिस्बनबाट आएका हुन्। यस सिजनको प्रिमियर लिगमा युनाइटेडले ६ मध्ये तीन खेल जितेको छ। लिगमा दुई खेल मात्र जितेको युनाइटेड अहिले १३औं स्थानमा छ।

गत अगस्टमा चौथो श्रेणीको क्लब ग्रिम्स्बीसँग लिग कपमा भएको अप्रत्याशित हारपछि नै अमोरिमको भविष्यबारे धेरै अनुमान भइरहेका छन्। आफ्नै खेलाडीबाट घृणा पाएकाले उनले राजीनामा नै दिने सोच बनाएको समाचार पनि आएका थिए। म्यानचेस्टर सिटीमा ४–० को हारसँगै उनलाई हटाउनुपर्ने आवाज निस्किएको थियो।

चेल्सीविरुद्ध २–१ को जितपछि उनीमाथि रहेको दबाब हटेको अनुमान गरिए पनि युनाइटेडले अर्को खराब प्रदर्शन सामना गरेको छ। युनाइटेडले पछिल्ला पाँच खेलमध्ये तीन खेलमा हार सामना गरेको ब्रेन्टफोर्डसँग नतिजा सुम्पिएको हो। क्लबका सहमालिक जिम राटक्लिफसँग राम्रो सम्बन्धका कारण उनी अहिलेसम्म जोगिएको पनि चर्चा भइरहेको छ।

जिमको विश्वासलाई जोगाइ राख्न उनले ओल्ड ट्राफोर्डमा हुने सन्डरल्यान्डसँगको आगामी खेलमा जित निकाल्नु पर्नेछ। त्यसपछि नै युनाइटेडले लिग च्याम्पियन लिभरपुलको यात्रा गर्ने तालिका छ। ‘हामी सधैं एउटै कारणले हारिरहेका छौं। यसले धेरै दुखी बनाएको छ,’उनले भने।

शनिबार नै भएका अन्य खेलमा चर्चित क्लब चेल्सी र लिभरपुल दुवै टोलीले हार सामना गरेका छन्। चेल्सी ब्राइटनसँग ३–१ ले पराजित हुँदा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ ले नतिजा सुम्पिएको हो तर म्यानचेस्टर सिटीले भने बर्नलीमाथि ५–१ को रबाफिलो जित निकालेको छ। बर्नमाउथले लिड्सँग २–२ को बराबरी खेल्दै अंक बाँड्यो।

प्रकाशित: १२ आश्विन २०८२ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App