अफगानिस्तान क्रिकेट बोर्डले पक्तिका प्रान्तमा भएको पाकिस्तानी आक्रमणमा तीन खेलाडीको मृत्यु भएको बताएको छ। बोर्डले आक्रमणको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ।
यसका साथै नोभेम्बरमा पाकिस्तानसँग हुने त्रिकोणीय टी–२० शृङ्खलाबाट पछि हट्ने निर्णय गरेको छ।
तीन खेलाडीको तस्बिर साझा गर्दै बोर्डले भनेको छ, ‘शुक्रबार साँझ पाकिस्तानबाट भएको आक्रमणमा यी खेलाडीहरूलाई लक्षित गरिएको थियो।’
अफगानिस्तान क्रिकेट बोर्डका अनुसार यस आक्रमणमा तीन खेलाडी (कबीर, सिब्घाटुल्लाह र हारुन) बाहेक अन्य पाँच सर्वसाधारणको मृत्यु भएको छ।
बोर्डले भनेको छ, ‘खेलाडीप्रति सम्मान र यस दुखद घटनाको प्रतिक्रियामा, अफगानिस्तान क्रिकेट बोर्डले नोभेम्बरको अन्त्यमा पाकिस्तानसँग हुने आगामी त्रिकोणीय टी–२० शृङ्खलाबाट पछि हट्ने निर्णय गरेको छ।’
यस विषयमा पाकिस्तान क्रिकेट बोर्डबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
टी–२० शृङ्खला पाकिस्तान, अफगानिस्तान र श्रीलङ्काबिच खेलिने तय भएको थियो। खेलहरू नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिन्डीमा हुने तालिका थियो।
प्रकाशित: १ कार्तिक २०८२ ०९:१७ शनिबार





