संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले फिल्डिङ रोज्दै यूएईलाई ब्याटिङको निम्तो दिएका हुन्।
नेपाली टोलीमा आज युवा स्पिन अलराउन्डर सन्तोष यादवले डेब्यु गर्दैछन्। घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका यादवलाई पहिलो पटक राष्ट्रिय टोलीको ‘प्लेइङ ११’ मा समावेश गरी अन्तर्राष्ट्रिय मञ्चमा अवसर दिइएको हो।
टोलीको ब्याटिङको मुख्य जिम्मेवारी कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल र आरिफ शेखमाथि छ भने अलराउन्डरका रूपमा कप्तान ऐरी र गुल्सन झा रहेका छन्।
बलिङतर्फ सन्दीप लामिछानेले स्पिन आक्रमणको नेतृत्व गर्नेछन्। उनलाई शाहब आलम र डेब्युटान्ट सन्तोष यादवले स्पिनमा साथ दिनेछन्। यस्तै, तीव्र गतिको बलिङमा हेमन्त धामी, नन्दन यादव र गुल्सन झा रहेका छन्।
घरेलु मैदान र दर्शकको साथ पाएको नेपालले आजको खेलमा यूएईलाई सस्तैमा समेट्ने लक्ष्य राखेको छ।
नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी (कप्तान), गुल्सन झा, सन्तोष यादव, आरिफ शेख, शाहब आलम, नन्दन यादव, सन्दीप लामिछाने र हेमन्त धामी।
प्रकाशित: ८ वैशाख २०८३ १६:४८ मंगलबार





