तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा बिहीबारदेखि सुरु भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको विश्वविद्यालय खेलकुद प्रतियोगिताको औपचारिक रूपमा सुरुआत भएको हो। उक्त प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्यालले उद्घाटन गरे।
विकसित देशमा खेलकुदलाई देशको अर्थतन्त्र वृद्धिको पाटोका रूपमा लिइने धारणा व्यक्त गर्दै जित/हार भन्दा पनि माथि उठेर सहभागीलाई खेलभावना प्रदर्शन आग्रह गरे। राखेपका सदस्यसचिव रामचरित्र मेहताले विश्वविद्यालय खेलकुदको आकर्षण बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा प्रतियोगिता अझ भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले प्रतियोगिता आयोजना गर्न सहकार्य गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै धन्यवाद दिए। काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले खेलकुद राष्ट्रिय एकताको प्रतीक भएको बताउँदै खेलकुदले राष्ट्रिय गौरव अभिवृद्धि गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

राखेप कार्यकारी समितिका सदस्य एवं प्रतियोगिता संयोजक कमलबहादुर भट्टराईले तेस्रो संस्करणसम्म आइपुग्दा विश्वविद्यालय खेलकुदको दायरा फराकिलो बन्दै गएको बताए। नेपालय इन्टरनेसनल प्रालिका अध्यक्ष सुवासचन्द्र प्रधानले खेलकुदसँगको सहकार्य १० वर्ष पूरा भएको स्मरण गर्दै ग्रासरुट तहदेखि खेलकुदको विकास हुनुपर्छ भन्ने उद्देश्यसाथ नेपालयले राखेपसँग यु–१४ विद्यालय खेलकुदमा सहकार्य गरिसकेको बताए।
उनले राष्ट्रपति रनिङ सिल्डमा पनि राखेपसंगको सहकार्यले निरन्तरता पाउने बताए। काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनल प्रालिको सहआयोजना तथा केआइइस एजुकेसन कन्सल्टेन्सीको प्रायोजनमा भइरहेको प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, बास्केटबल (थ्री बाइ थ्री) र भलिबल गरी ५ खेल समावेश छन्।
दुईदिने प्रतियोगितामा विभिन्न ९ विश्वविद्यालयबाट २ सय ७९ खेलाडी सहभागी छन्। भलिबलमा भने छात्रतर्फ मात्र प्रतिस्पर्धा हुनेछ। विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरिएको प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र २७ कांस्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।
निर्णायकको तर्फबाट टेबल टेनिसका राष्ट्रिय पूर्वच्याम्पियन शिवसुन्दर गोथे र खेलाडीको तर्फबाट दीपेन्द्र अवस्थीले शपथ ग्रहण गरेका थिए। उद्घाटनका अवसरमा राखेपका सदस्य मधुसूदन सुवेदी, नन्दा बस्याल, सन्तकुमार मेहता, रामचन्द्र श्रेष्ठ, जगत टमाटा र कुमार लामा घिसिङ, काठमाडौं विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका का.मु. निर्देशक डा. गोकुल केसी, प्रायोजक केआइइसका संस्थापक प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजाल, नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, विभागीय प्रमुख, शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: २३ माघ २०८२ ०६:२० शुक्रबार





