तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकप २०८३ वैशाख ५ देखि १२ सम्म आयोजना गरिने भएको छ । इलामको ठूलो टुँडिखेलमा आयोजना हुन लागेको प्रतियोगितामा नेपाल, भारत र मलेसियाका ८ टिम सहभागी हुनेछन् ।
आयोजक रेडहर्स फुटबल क्लबका अनुसार यसपटक डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब, हेटौंडाको चित्लाङ फुटबल क्लब, झापा धुलाबारीको रोलिङ क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, आयोजक रेडहर्स तथा मलेसियाको एन पेनाङ फुटबल क्लब र भारत सिक्किमको जोर्जियन फुटबल क्लब सहभागी हुने निश्चित भएको छ ।
विभिन्न टिमबाट ब्राजिलियन, नाइजेरियन र मलेसियन खेलाडीसमेत गोल्डकपमा सहभागी हुने आयोजक क्लबका निरोज खड्गीले बताए । ‘नेपालका विभिन्न क्लबबाट नेपाली राष्ट्रिय टिमका रोहित चन्द, अन्जन विष्ट, आदित्य शाक्य, डोना थापामगर, मनिष डाँगी, एरोन थापामगरलगायत खेलाडी पनि आउने जानकारी छ,’ उनले भने, ‘यसपटकको प्रतियोगिता विगतभन्दा निकै आकर्षक र रोचक बन्ने अनुमान छ ।’
प्रतियोगिता विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछन् । विभिन्न विधागत पुरस्कार वितरण गरिने आयोजकको भनाइ छ ।
खेल आयोजना हुने ठूलो टुँडिखेलमा दुबो लगाइएपछि यसपटक मैदान सहज भएको रेडहर्स फुटबल क्लब महासचिव प्रकाश घिमिरेले जानकारी दिए । ‘गएको बर्खादेखि नै हामी यहाँ फुटबल प्रतियोगिता आयोजना गर्ने केही क्लबहरूको सहकार्य र सक्रियतामा मेहनत गरेर यो मैदानलाई घाँसे मैदान बनाइएको छ,’ उनले भने, ‘त्यसैले यो वर्ष खेलाडीलाई धेरै सहज हुनेछ ।’
दर्शकका लागि मैदानवरिपरि करिब ४ हजार बाँस खपत हुनेगरीको प्यारापिट निर्माण भइरहेको छ ।
दोस्रो संस्करणको इलाम गोल्डकप उपाधि एनआरटीले जितेको थियो । चर्च ब्वाइजलाई ३–० गोलान्तरले पराजित गर्दै एनआरटीले पहिलो इलाम गोल्डकप विजयलाई निरन्तरता दिएको थियो ।
प्रकाशित: २४ चैत्र २०८२ १०:२३ मंगलबार





