फागुन २१ को प्रतिनिधिसभा निर्वाचनले देशका सबै पक्षलाई छोएको छ। देशको आगामी बागडोर सम्हाल्ने प्रतिनिधि छनोट गर्न भइरहेको निर्वाचनप्रति खेल क्षेत्रको चासो नहुने कुरै भएन। यस पटक चासो मात्रै छैन, केही खेल क्षेत्रका हस्तीहरू नै आफै निर्वाचनको मैदानमा उत्रिएका पनि छन्।
खेल क्षेत्रमा संलग्न भएर ख्याति कमाएका केही पात्रहरू अब निर्वाचनमार्फत जनताबाट अनुमोदित हुँदै देशको बागडोर सम्हाल्ने र नीति निर्माण गर्ने ठाउँसम्म पुग्ने अभियानमा पनि जुटेका छन्।
तीनै पात्रमध्ये पहिलो नम्बरमा आउने नाम हो, चतुरबहादुर चन्द। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चन्द यतिबेला चुनावी महासंग्राममा उत्रिएर जनतामाझ आफूलाई परीक्षण गर्ने कोसिसमा जुटिसकेका छन्।
चन्द नेपाली कांग्रेसका तर्फबाट बैतडीमा चुनाव लडिरहेका छन्। उनी कांग्रेसको जिल्ला सभापति पनि हुन्। यसर्थ नेपाली क्रिकेटसँग योगदान दिँदै लामो यात्रा गरेका उनी सँगसँगै राजनीतिमा पनि संलग्न थिए। चन्द २०७६ असोज १२ गते क्यानको अध्यक्ष चुनिएका थिए। अहिले क्यानमा उनको दोस्रो कार्यकाल चलिरहेको छ। पछिल्लो पटक २०८० असोज ६ गते उनी फेरि क्यानको अध्यक्षमा चुनिएका थिए।
त्यसअघि पनि लामो समय क्यानका विभिन्न भूमिकामा थिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले क्यानलाई निलम्बन गर्दा निलम्बन फुकुवा गराउन पनि उनले भूमिका खेलेका थिए।
चन्दकै नेतृत्वमा नेपाली क्रिकेटले हालसम्मकै उच्च स्तरका ऐतिहासिक उपलब्धि हासिल पनि गरेको छ। यही कारण नेपालमा क्रिकेट निकै लोकप्रिय पनि बनेको छ। क्यानमा सफल नेतृत्व दिएका चन्द अब राजनीतिमार्फत राजकीय भूमिकाको यात्रामा अघि बढेका छन्।
यस्तै नेपाली क्रिकेटकै अर्को चर्चित नाम ज्ञानेन्द्र मल्ललाई पनि यस पटक चुनाव लागेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रहिसकेका मल्ल पछिल्लो समय क्रिकेट प्रशिक्षकको भूमिकामा सक्रिय थिए।
फागुन २१ को निर्वाचनका लागि मल्ललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी मैदानमा उतारेको छ। उनी रास्वपाको समानुपातिक तर्फका उम्मेदवार छन्। यसर्थ क्रिकेटको ब्याट र बलबाट ख्याति कमाएका मल्लको परिचय अब क्रिकेटमा मात्र सीमित हुने छैन।
यस्तै क्रिकेट कमेन्टेटरका रूपमा ख्याति कमाएका अर्का युवा सचिन तिमिल्सिना पनि यस पटक चुनावी मैदानमा छन्। कांग्रेसले सचिनलाई चुनावी मैदानमा उतारेको छ। उनी काठमाडौं–४ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन्।
क्रिकेट कमेन्ट्रीमार्फत नेपाली युवामाझ उनको लोकप्रियता लोभलाग्दो छ। अब चुनावमा नै होमिएपछि उनको आगामी भूमिका अझै फराकिलो हुने देखिएको छ।
प्रकाशित: ८ माघ २०८२ १६:५१ बिहीबार





