पाँच पटकको विश्वविजेता ब्राजिल सन् २०२६ को फिफा विश्वकपमा २४ वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यसहित मैदानमा होमिँदै छ।
अमेरिकाको न्युयोर्क सिटीमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले समूहको आफ्नो पहिलो खेलमा अफ्रिकाको बलियो टोली मोरक्कोसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्दै छ। समूह ‘सी’ का यी दुईबीच न्यु जर्सी स्टेडियममा आइतबार ३ः४५ बजे प्रतिस्पर्धा गर्ने तालिका छ। यस समूहमा हाइटी र स्कटल्यान्डजस्ता तुलनात्मक रूपमा कमजोर टोली छन्। समूहका स्कटल्यान्ड र हाइटी लामो समयको अनुपस्थितिपछि विश्वकपमा फर्किएका हुन्। यो समूहका सबै खेल अमेरिकामा हुनेछन्। ब्राजिलले न्युयोर्क, फिलाडेल्फिया र मायमीमा खेल्नेछ। स्कटल्यान्डले हाइटी र मोरक्कोविरुद्धका दुई खेल बोस्टनमा खेल्नेछ।
यसैगरी हाइटी र मोरक्कोबिचको अर्को खेल एट्लान्टामा हुनेछ। स्कटल्यान्ड नवौं पटक र हाइटी दोस्रो पटक विश्वकप खेल्दै छन्। ५२ वर्षपछि विश्वकपमा फर्किएको हाइटीलाई कमजोर टोलीका रूपमा हेरिएको छ। विश्वकपमा राम्रो इतिहास बनाउन नसकेको समूहमा ब्राजिल बलियो टोली हो। तर, पछिल्ला विश्वकपमा ब्राजिलले पनि राम्रो नतिजा ल्याउन सकेको छैन। ब्राजिलले सन् २००२ मा पछिल्लोपटक विश्वकप जितेको थियो। जुन एसियाली राष्ट्र दक्षिण कोरिया र जापानमा भएको हो। त्यसयता विश्व फुटबलको सर्वोच्च उपाधिबाट दक्षिण अमेरिकी टोली टाढा रहँदै आएको छ।
ब्राजिलको वर्तमान टोली युवा छ। ब्राजिलले अन्तिम पटक विश्वकप जित्दा दुई खेलाडी जन्मिएका समेत थिएनन्। त्यसैले एक पुस्ता ब्राजिली समर्थकले आफ्नै देशलाई विश्वकप ट्रफी उचाल्दै गरेको दृश्य देख्न पाएका छैनन्। विश्व फुटबलको सबैभन्दा सफल राष्ट्र भए पनि पछिल्ला संस्करणमा उसले आफ्नो पुरानो छवि गुमाउँदै गएको छ। ब्राजिली फुटबल एक समय आकर्षक, सिर्जनात्मक र मनोरञ्जनपूर्ण खेलको पर्याय मानिन्थ्यो। अहिले पनि बलियो टोली भए पनि सुन्दर फुटबलको छवि ब्राजिल बन्न सकेको छैन। उत्तर अमेरिकामा भने विश्वकपको सफल राष्ट्र ब्राजिललाई छवि फर्काउने आशामा छन् उसका समर्थक। तर, फुटबल पण्डितले पनि यो टोलीलाई दाबेदार मानेका छैनन्।
तर पनि उसका समर्थक ब्राजिललाई सबै संस्करणमा उपाधि हकदार मान्ने गर्छन्। अहिले इटालीका अनुभवी प्रशिक्षक कार्लो एन्सेलोट्टीको नेतृत्वमा यो टोली छ। जसको प्रशिक्षणमा ब्राजिल छैटौं विश्वकप उपाधिको खोजीमा हुनेछ। एन्सेलोट्टीले सन् २०३० सम्मको सम्झौता गरे पनि उनको सफलताको मापन विश्वकप उपाधिले नै गर्नेछ। यद्यपि विश्वकपअघि ब्राजिलको तयारी सहज भने रहेन। छनोटचरण र कोपा अमेरिकाको अधिकांश समय टोलीले स्थिर प्रदर्शन गर्न सकेन। एन्सेलोट्टी टोलीमा भित्रिएपछि समर्थकको आशा बढेका छन्। विश्वकपअघि चोटका कारण रोड्रिगो, युवा स्टार एस्टेभाओ र डिफेन्डर एदर मिलिताओ बाहिरिए। इजिप्टविरुद्धको अभ्यास खेलमा राइट ब्याक वेस्ली पनि घाइते भए। पनामाविरुद्ध ६–२ को जित निकाले पनि ब्राजिलको खेलले केही कमजोरी उजागर ग¥यो। चार अग्रपंक्तिसहित मैदान उत्रिएको टोलीले मध्यपङ्क्तिमा सन्तुलन कायम गर्न सकेन। कप्तान कासेमिरो र ब्रुनो गुइमारेसको मध्यपङ्क्ति विपक्षीको दबाबमा प¥यो। एन्सेलोट्टीले समेत आफ्नो रणनीतिबारे पुनर्विचार गरिरहेको संकेत दिएका छन्।
२६ सदस्यीय टोलीमा पाँच मिडफिल्डर मात्र समावेश भएकाले उनी थप विकल्पको खोजीमा देखिन्छन्। ब्राजिलसँग गोलकिपर एलिसन, सेन्टर ब्याक जोडी मार्किन्होस र गाब्रिएल मागाल्हाएस, मिडफिल्डमा कासेमिरो र गुइमाराएस तथा अग्रपंक्तिमा भिनिसियस जुनियर र राफिन्हाजस्ता विश्वस्तरका खेलाडी छन् तर टोलीका केही स्थान अझै अनिश्चित छन्। मोरक्कोविरुद्धको पहिलो खेलअघि राइट ब्याक को हुने प्रश्न छ? लुकास पाक्वेटाले मध्यपंक्तिमा स्थान बनाउने दुविधा, सेन्टर फरवार्डमा म्याथियस कुन्हा, इगोर थियागो वा युवा स्टार एन्ड्रिकमध्ये कसले अवसर पाउने भन्ने विषयमा ब्राजिली सञ्चारमाध्यममा व्यापक चर्चा भइरहेको छ। यसबिच सबैभन्दा बढी चासोको विषय बनेका छन् नेइमार।
सन् २०२३ मा गम्भीर घुँडाको चोट बोकेका नेइमार अझै पूर्ण फिट भइसकेका छैनन्। यस वर्ष क्लब स्तरमा पनि उनको प्रदर्शन प्रभावशाली हुन सकेको छैन। तथापि एन्सेलोट्टीले नेइमारलाई टोलीमा राखेका छन्। विश्वकपको उत्तरार्धमा विपक्षी टोलीहरू शारीरिक रूपमा थकित हुँदा नेइमारको प्रतिभाले खेलको परिणाम बदल्न सक्छ भन्ने अनुभवी प्रशिक्षकको विश्वास छ। एन्सेलोट्टीले सन् १९९४ को विश्वकपको अनुभवलाई आधार बनाउँदै नेइमारलाई विशेष हतियारका रूपमा प्रयोग गर्न सकिने विश्वास राखेका छन्। त्यति बेला इटालीका फ्रान्को बारेसी चोटबाट फर्किएर फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। यो विश्वकप ब्राजिलका लागि अर्को प्रतियोगिता मात्र होइन।
२४ वर्षदेखि प्रतीक्षामा रहेका समर्थकलाई खुशी दिने अवसर पनि हो। नेइमारका लागि पनि यो सम्भवतः अन्तिम विश्वकप हुन सक्छ। त्यसैले ब्राजिल र नेइमार दुवैका लागि यसपटकको विश्वकप ‘उपाधि कि असफलता’ को अवस्थामा पुगेको देखिन्छ।
खराब लय र एन्सेलोट्टी
त्यसयता सन् २०१४ मा आफैंले आयोजना गर्दाबाहेक ब्राजिल प्रत्येक संस्करणमा क्वार्टरफाइनलमा पराजित हुँदै बाहिरिएको इतिहास छ। सन् २०१४ मा सेमिफाइनल पुगेको टोली अन्तिम चारको खेलमा जर्मनीसँग ७–१ को लज्जाजनक हारको सिकार हुन पुग्यो। चार वर्षअघि कतारमा क्रोएसियाले पेनाल्टी सुटआउटमा पराजित गर्दै ब्राजिललाई घर फर्काएको इतिहास छ।

ब्राजिलको टिम रियाल मड्रिडका भिनिसियस जुनियर र राफिन्हामाथि बढि निर्भर हुनेछ। घुँडाको चोटका कारण रियालका फरवार्ड रोडरिगो भने विश्वकप टिममा छैनन्। विश्वकप छनोटमा यसपाली ब्राजिलको टिमबाट अपेक्षित प्रदर्शन हुन सकेको थिएन। निराशाजनक छनोट यात्रामा ब्राजिलले चिरप्रतिद्वन्द्वी अर्जेन्टिनासँग पीडादायी हार भोग्नुपरेको थियो।
त्यो नतिजापछि ब्राजिली फुटबल महासंघले भेट्रान प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई नियुक्त भित्रायो। एन्सेलोट्टीले जसोतसो ब्राजिललाई सोझै छनोटसम्म पुर्याए। ब्राजिल दक्षिण अमेरिकी छनोटको पाँचौं स्थानमा रहँदै उत्तर अमेरिकाको विश्वकपमा आएको हो। एन्सेलोट्टी क्लब फुटबलमा सफल प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा पाँच पटक प्रतिष्ठित युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन् तर विश्वकपमा उनको अनुभव राम्रो छैन।
सन् १९९४ विश्वकपमा इटालियन टिममा मुख्य प्रशिक्षक एरिगो साचीको सहायकका रूपमा काम गरेका थिए। अमेरिकामै भएको त्यो विश्वकपमा इटाली फाइनल पुगेको थियो। फाइनलमा ब्राजिलसँग पराजित भएपछि इटाली उपाधिबाट विमुख बन्यो। त्यो उपाधिको धोको उनले यसपल्ट पूरा गर्न सक्छन्।
चार वर्षअघि कतारमा मोरक्को अन्तिम चारसम्म पुगेको थियो। जुन विश्वकपको अहिलेसम्मको इतिहासमा कुनै पनि अफ्रिकी टिमको उत्कृष्ट नतिजा हो। अन्तिम १६ मा स्पेनलाई हराएको मोरक्कोले क्वार्टरफाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई निराश पारेको थियो। तर, सेमिफाइनलमा मोरक्को फ्रान्ससँग पराजित भयो।
अहिले मोरक्कोको फुटबल अन्तर्राष्ट्रिय जगतमा राम्रो लयसँगै चर्चा छ। गत अफ्रिका कप अफ नेसन्सको विवादले पूरा विश्व फुटबलका नियमनकारी निकायहरूलाई मोरक्कोले नीतिगत रूपमा मज्जासँग हल्लाएको थियो। घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा मोरक्को सेनेगलसँग पराजित भएको थियो। तर फाइनलमा रेफ्रीको अनुमतीविना खेलाडीहरूले मैदान छोडेको विषयमा अनुशासनको कारबाही गर्ने क्रममा पनि अफ्रिकी फुटबल महासंघले फाइनलको नतिजा उल्टाउँदा मोरक्को अफ्रिकी च्याम्पियन भयो।
प्रशिक्षक वालिद रेग्रागुईले अफ्रिका कप अफ नेसन्सको फाइनलपछि टिमबाट राजीनामा दिइसकेका छन्। जसका कारण अव विश्वकपमा नयाँ प्रशिक्षकले मोरक्कोको नेतृत्व गर्नेछन्। र, ती नयाँ प्रशिक्षक मोरक्कोको यु–२० टिमलाई युवा विश्वकपको उपाधि जिताउने मोहमेद ओनाबी हुन्। मोरक्कोले चार वर्षपछि स्पेन र पोर्चुगलसँग मिलेर विश्वकपको अर्को संस्करण आयोजना गर्दैछ।
प्रकाशित: ३० जेष्ठ २०८३ ०७:१३ शनिबार





