शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा तय २०औं एसियाली खेलकुदमा खेलाडीको मिहिनेतले देशको शिर उचो हुने बताएका छन्।
जापानको नागोया/आइची सहरमा २०औं एसियाली खेलकुद आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुँदै छ। जहाँ नेपालबाट २१ खेलका ५७ महिला र ७८ पुरुष गरी कुल १३५ नेपाली खेलाडीले आगामी २०औं एसियाली खेलकुदमा खेल्दै छन्।
नेपाली टोलीको बिदाइ कार्यक्रममा बिहीबार मन्त्री पोखरेलले खेलाडीको मिहिनेतकै कारण एसियाली खेलकुदमा देशको शिर उचो हुने आशा व्यक्त गरेका हुन्। यसअघि नेपालका २२ खेलका खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले घोषणा गरेको थियो तर अन्तिम समयमा राखेपले डान्स स्पोटर्सको विधा हटाएको छ। यस खेलमा एक खेलाडी र प्रशिक्षक थिए। उसुको सान्सौंतर्फ मुकेश पण्डित मेडिकल परीक्षणमा असफल भएपछि एसियाली खेलकुद खेल्नबाट वञ्चित भएका छन्।
नेपाली टोलीमा २९ जना प्रशिक्षक र १७ व्यवस्थापक तथा खेल प्राविधिक २ जना गरी १८४ जना सहभागी हुँदै छन्। यसपल्ट एसियाली खेलकुदमा नेपालबाट कुल २११ जना सहभागी हुने सरकारले जनाएको छ।
नतिजा जेसुकै भए पनि राज्यको सीमित लगानीमा खेलाडीले प्रतिनिधित्व गर्ने चाहना नै महत्त्वपूर्ण पक्ष रहेको मन्त्री पोखरेलको धारणा छ। खेलाडीले जस्तोसुकै नतिजा पाए पनि राज्यले गर्ने व्यवहारमा परिवर्तन नहुने मन्त्री पोखरेलले विश्वास व्यक्त गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा विभिन्न खेलका खेलाडीलाई बिदाइ गरिएको थियो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र राखेपका सदस्यसचिव रामचरित्र मेहताले नेपाली टोलीको बिदाइ गरेका थिए।
करातेको टोली भने गत साता नै एसियन गेम्स तयारीका लागि टोकियो गइसकेको छ। बिदाइ कार्यक्रममा एथलेटिक्सकी खेलाडी सन्तोषी श्रेष्ठले सबै खेलका खेलाडीले पदक जित्ने विश्वास गरिरहँदा एथलेटिक्सलाई पनि प्रोत्साहन मिल्ने गरेको बताइन्।
नतिजा जेसुकै आए पनि आफ्नो तयारी र प्रोसेसअनुरूप एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने सन्तोषीले विश्वास व्यक्त गरेकी छन्। जति पढे पनि परीक्षा आएपछि विद्यार्थीलाई तयारी नपुगेको महसुस भएजस्तै खेलाडीलाई पनि सदैव यस्तै हुने गरेको उनी बताउँछिन्।
खेलाडीहरूबाट पदकको आशा धेरै नराखी उनीहरूमा दबाब कम गराउन सन्तोषीले आग्रह गरिन्। दबाबका कारण खेलाडीले आफ्नो स्वाभाविक खेल देखाउन नसक्ने सन्तोषीको भनाइ छ। उसुका खेलाडी विजय सिन्जालीले एसियन गेम्समा प्रतिस्पर्धा गर्न सबै खेलाडी तयार भए पनि यो पर्याप्त नभएको बताए।
पदक जित्ने लक्ष्य भए पनि अन्य देशको तुलनामा तयारी पर्याप्त नभएको महसुस खेलाडीले गरेको विजयले धारणा राखे। यसपल्ट गत संस्करण पदक दिलाएको नेपाली कराते र महिला कबड्डी दुवै सहभागिता हुँदै छन्। लामो समयदेखिको तयारी र पछिल्ला नतिजाका कारण यसपल्ट सुखद नतिजा आउने आशा छ।
नेपालबाट आर्चरीमा १/१ पुरुष/महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २/२ पुरुष/महिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइ स्लालममा २ पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा १/१ पुरुष/महिला हुनेछन्।
गल्फमा ३ पुरुष र १ महिला, जुडोमा ३/३ पुरुष/महिला, कबड्डीमा १२/१२ पुरुष/महिला, स्केटबोर्डमा २ पुरुष, सफ्ट टेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा १/१ पुरुष/महिला, पौडीमा ३ पुरुष र २ महिला, टेबल टेनिसमा ३/३ पुरुष/महिला, तेक्वान्दोमा २ पुरुष, टेनिसमा ३ पुरुष र २ महिला, महिला भलिबलमा १२, कुस्तीमा ४ पुरुष र २ महिला तथा उसुमा ७ पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।
प्रकाशित: २६ भाद्र २०८३ ०७:१४ शुक्रबार





