२७ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
खेल

सन्दीपको पहिचान दिने खेल

लगातार असफलताले आत्मविश्वास डगमगाउन सक्छ तर आफ्नो क्षमता माथिको विश्वास कायम राख्न सके सफलता टाढा हुँदैन। नेपाली क्रिकेट टोलीका प्रिमियर लेग स्पिनर सन्दीप लामिछानेले बिहीबार कीर्तिपुरमा यही विश्वास मैदानमा प्रमाणित गरे।

उनी स्वाभाविक लयमा थिएनन्। तथापि ब्याटरलाई आफ्नो स्पिनमा अल्झाउने र खेलको दिशा बदल्न सक्ने क्षमता भने उनमा थियो। त्यसैले उनीबाट समर्थकले त्यहीअनुरूप धेरै आशा गरिरहन्छन् तर नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा सन्दीपका पछिल्ला पाँच खेलमा ती नतिजा आउन सकेन। त्यसले सन्दीपको आत्मबलमा भने कुनै कमी आएको थिएन। त्यही आत्मबलका कारण सन्दीपले बिहीबार पोखरा एभेन्जर्सविरुद्ध आफ्नो उत्कृष्टता देखाए।

एनपिएलकै इतिहासमा सबैभन्दा धेरै विकेट लिने सूचीमा दोस्रो स्थानका सन्दीपले एकपल्ट फेरि प्रमाणित गरे। जहाँ पोखरा एभेन्जर्सविरुद्ध सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिए।

एनपिएलको तेस्रो सिजनकै सर्वाधिक प्रभावशाली बलिङ प्रदर्शन उनले गरे। समग्र भने यो दोस्रो उत्कृष्ट प्रदर्शन रह्यो। यसअघि उनको जादु आउन सकिरहेको थिएन। बलिङमा राम्रो देखिए पनि सन्दीप विकेटको खोजीमा संघर्षरत देखिन्थे। अन्तत् छैटौं खेलमा उनी सफल भए। सन्दीपको यो प्रदर्शन व्यक्तिगत कीर्तिमानमा सीमित रहेन। विराटनगरले चार विकेटको जित रच्यो र प्लेअफको दाबेदारीमा पनि उभियो। जहाँ सन्दीप म्यान अफ दी म्याच भए।

 पोखरा पाँचौं हारले प्लेअफ होडबाट बाहिरिँदा विराटनगर प्लेअफ होडमा पनि फर्किएको छ। पछिल्ला खेलमा घरेलु बलरले राम्रो गर्न नसक्दा विराटनगर पनि दबाबमा थियो। सन्दीपको प्रदर्शनले अन्य घरेलु बलरका लागि पनि आत्मबल बढ्न सक्नेछ। राम्रा खेलाडी खराब लयबाट कसरी बाहिर निस्कन्छन् भन्ने सन्दीपले देखाए।

खेलपछि पत्रकार सम्मेलनमा पनि उनले आफ्नो क्षमतामाथि कुनै शंका नरहेको बताए। ‘मेरो क्षमताप्रति मलाई शंका थिएन। मैले यसअघि पनि नराम्रो बलिङ गरेको थिइनँ। तर विकेट मात्र आउन सकिरहेको थिएन। तपाईलाई मप्रति शंका थियो र ?,’अब लयमा फर्किएको भन्ने पत्रकारको प्रश्नमा सन्दीपले जबाफ दिए। उत्कृष्ट बलिङ गर्दा पनि विकेट नआउनु स्वाभाविक पक्ष भएको उनको बुझाइ थियो। त्यसैले विकेट नआउँदा हतास नभएको सन्दीप बताउँछन्। निराशामा अल्झिनुभन्दा आफ्नो प्रक्रियामा उनले विश्वास राखे। बिहीबार त्यसैको परिणाम मैदानमा देखियो।

विराटनगर कप्तानसमेत रहेका सन्दीपले पोखराविरुद्ध चार ओभरमा ६ विकेट लिँदा २७ रन मात्र दिए। यस क्रममा उनले ह्याट्रिक पूरा गरे। यो प्रदर्शन एनपिएल इतिहासकै दोस्रो उत्कृष्ट बलिङ आँकडा हो। उनीसँगै तीन खेलाडीले अहिलेसम्म एकै खेलमा ६ विकेट लिएका छन्। यसअघि काठमान्डु गोर्खाजका साहब आलमको नाममा (चार ओभरमा ६ विकेट लिँदै २५ रन) उत्कृष्ट बलिङ रेकर्ड छ।

कर्णाली याक्सका विल बोसिस्टोले पनि ६ विकेट लिँदै २८ रन खर्चेका थिए। बोसिस्टो यस सिजन काठमान्डुबाट खेल्दैछन्। बोसिस्टोको भन्दा १ रन कम खर्चेर सन्दीप यो सूचीमा दोस्रो स्थानमा उभिए। खेलको सुरुआतमै सन्दीपले पोखराको ब्याटिङमाथि दबाब सिर्जना गरे।

पहिलो दुई ओभरमै १२ रन खर्चेर उनले तीन विकेट लिए। उनले पोखरालाई सम्हालिन दिएनन्। त्यसपछि पुनः बलिङमा फर्किएका उनले १५औं ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। पहिलो दुई बलमा भने सन्दीपले १० रन खर्चिए तर दबाबबाट उनले तेस्रो बलमा विकेट झारे। त्यो पनि उत्कृष्ट लयमा रहेका युवराज सामरा उनको शिकार भए। अघिल्लो खेलका युवराज शतकधारी हुन्।

यो खेलमा पनि युवराजले ४७ बलमा ८४ रन जोडिसकेका थिए। ठूलो चुनौती बन्न सक्ने युवराज सन्दीपको जालमा परे। उनको यो जादुमयी स्पेलले यहीबाट पोखराको इनिङ धराशयी भयो। सन्दीपले युवराजसँगै अनुभवी ब्याटर तथा कप्तान चमिका करुनारत्ने र किरण ठगुन्नालाई शून्यमा पभेलियन फर्काउँदै ह्याट्रिक पूरा गरे। युवराजको आक्रामक ब्याटिङ बाबजुद पोखरा १७.५ ओभरमा १३२ रनमै समेटियो। पोखरालाई सामान्य योगफलमा रोक्न सन्दीपको बलिङ निर्णायक बन्यो। सन्दीपका लागि लय फर्काउने अवसर पनि बन्यो।

यस अघिका खेलमा उनले बलिङमा प्रभाव छाड्ने प्रयास गरे। विकेटको खडेरी तोड्न सकेका थिएनन्। तर, उनले आफ्नो क्षमतामाथि विश्वास गुमाएनन्। यही आत्मविश्वासले सन्दीप सर्वाधिक विकेटकर्ताको होडमा फर्किने आशा छ।

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका सन्दीप एसोसिएटकै उत्कृष्ट स्पिनर मध्ये एक हुन्। इन्डियन प्रिमियर लिग (आइपिएल)सँगै विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलेका सन्दीपले एनपिएलमा आफ्नो प्रभाव फर्काए।

भारतीय क्रिकेटर इर्फान पठानसँगको कुराकानी पनि स्मरण गर्दै सन्दीपले अब कहिले आइपिएल फर्कन्छौ भनेको पनि उल्लेख गरे। जुन आफ्नो हातमा नरहेको कुरा पठानलाई भनेको सन्दीपले बताए। उनको उत्कृष्ट प्रदर्शन बाबजुद विराटनगरले झन्डै खेल गुमाइसकेको थिएन।

ब्याटिङ चल्न नसक्दा विराटनगरले पनि संघर्ष गर्नुपर्‍यो तर इसुरु उडनाको अलराउन्ड प्रदर्शनले विराटनगरको हार टर्‍यो। १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। लगातार तेस्रो सिजन प्लेअफ नपुग्ने पोखरा एक मात्र टोली हो। सकिब अल हसन जस्ता स्टार भित्राए पनि यस सिजन पोखरा असफल नै रह्यो।

विश्वकै उत्कृष्ट खेलाडीले पनि कहिलेकाहिँ खराब लय सामना गर्नुपर्छ। तर दबाबका बीच निस्किएर उत्कृष्ट दिनु नै एक राम्रा खेलाडीको परिचय हो। जुन कुरा सन्दीपले प्रमाणित गरेर देखाए। धैर्यतासँगै आफूमा विश्वास राखे त्यसलाई नतिजामा बदल्न सकिने सन्दीपले प्रमाणित गरे।  

प्रकाशित: २७ कार्तिक २०८३ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App