१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

नव जनजागृतिको पहिलो अंक

विक्रम थोकरको गोल प्रेरणामा बाराको क्लब नव जनजागृति युवाले जारी एन्फा राष्ट्रिय लिगमा दशौं खेलमा पुगेर अंकको खाता खोलेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको पहिलो खेलमा बाराको टोली नव जनजागृतिले शीर्ष डिभिजन क्लब सातदोबाटो युथलाई १–१ को बराबरीमा राक्यो। यससँगै नव जनजागृतिले दशौं खेलमा पुगेर राष्ट्रिय लिगमा पहिलो अंक प्राप्त गर्‍यो। नव जनजागृतिको सफलतामा विक्रम थोकरको गोल महत्त्वपूर्ण रह्यो। सातदोबाटोका अरुण लामाले गोल गरे।

जारी लिगमा कमजोर प्रदर्शन गरिरहेको नव जनजागृतिले खेलमा अग्रता लिए पनि जोगाउन असफल भएको हो। दुवै हाफमा समान एक गोल भए। खेलको २९औं मिनेटमा विक्रमले गोल गर्दै अग्रता दिलाए। जारी लिगमा नव जनजागृतिको छैटौं र विक्रमको दोस्रो गोल पनि हो तर जनजागृतिले दोस्रो पल्ट अग्रता जोगाउन सकेन।

यसअघि शीर्ष टोली एपिएफसँग पनि नव जनजागृतिले गोल अग्रता लिएको थियो तर अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो। सातदोबाटोविरुद्ध भने जनजागृतिले पहिलो अंक प्राप्त गर्ने लक्ष्य खेर जान दिएन। खेलको पहिलो हाफमा नव जनजागृति १–० ले अगाडि रह्यो। तीन स्थान माथि रहेको सातदोबाटोले दोस्रो हाफमा भने गोल फर्कायो। ४८औं मिनेटमा अरुण लामाले गोल गर्दै सातदोबाटोलाई बराबरीमा ल्याए। त्यसपछि दुवै तर्फबाट अवसर सिर्जना भए।

जनजागृतिका गोलकिपर खोमबहादुर श्रेष्ठले केही उत्कृष्ट प्रहार असफल बनाए। उनी प्लेअर अफ दी म्याच पनि भए। समान १० खेलबाट आठ अंकसहित १४औं स्थानमा छ। एक अंक मात्र बटुलेको नव जनजागृति पुछारमा १७औं स्थानमा सीमित छ।

दिनको दोस्रो खेलमा न्यु रोड टिम (एनआरट) र श्री भगवती क्लब १–१ गोलको बराबरी नतिजा सामना गर्‍यो। खेलमा अग्रता जोगाउन नसक्दा श्री भगवतीले अंक बाँडेको हो। श्री भगवतीका बाखरोम्जोन तुर्गुनपुलोतोभ र एनआरटीका अञ्जन बिष्टले गोल गरे। पहिलो हाफमा गोल हुन सकेन। दोस्रो हाफमा भने दुई गोल भयो। ६६औं मिनेटमा बाखरोम्जोनले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाए । खेल सकिन लाग्दा श्री भगवती जितनजिक थियो तर इन्जुरी समयमा कप्तान अञ्जनले गोल फर्काउँदै एनआरटीको हार टारे। ११ खेलबाट एनआरटी २० अंक जोड्दै अंकतालिकाको सातौं स्थानमा छ। समान खेलबाट श्री भगवतीले ९ अंक जोड्दै १२औं स्थानमा छ।  

प्रकाशित: १ चैत्र २०८२ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App