१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

उत्कृष्ट तेस्रोलाई पनि अर्काे चरणको अवसर

 फिफा विश्वकप २०२६ को समूहका खेलहरू अन्तिम चरणतर्फ अघि बढ्दै जाँदा टोली, प्रशिक्षक र समर्थकहरू जित र हारको हिसाबमा मात्र सीमित छैनन्।

यस विश्वकपको नयाँ संरचनाका कारण विभिन्न गणितीय समीकरण र टाइब्रेकरका आधारहरूबारे पनि उनीहरू छलफल गरिरहेका भेटिन्छन्। ३२ राष्ट्रबाट ४८ टोलीमा विस्तार गरिएको यस २३औं संस्करणको विश्वकपले स्वरूप नै परिवर्तन गरेको छ। अब समूह चरणपछि सीधै अन्तिम १६ मा पुग्ने व्यवस्था छैन। पहिलोपल्ट अन्तिम ३२ को नकआउट चरणमा प्रवेश हुँदै छ।

नयाँ ढाँचाअनुसार १२ समूहका शीर्ष दुई टोली स्वतः नकआउट चरणमा पुग्नेछन्। त्यसबाहेक समूहमा तेस्रो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट आठ टोलीले पनि अन्तिम ३२ मा स्थान बनाउने अवसर पाउनेछन्। सन् १९९४ पछि पहिलो पटक विश्वकपमा तेस्रो स्थानमा रहने राष्ट्रलाई अर्को चरण पुग्ने यस्तो अवसर प्रदान गरिएको हो।

यस व्यवस्थाले समूहचरणका अन्तिम खेलहरूलाई अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाएको छ। फिफाले अर्को महत्त्वपूर्ण परिवर्तन पनि गरेको छ। विश्वकप इतिहासमै पहिलोपल्ट अंक बराबरी भएका टोली छुट्याउन ‘हेड टु हेड’ अर्थात् सम्बन्धित टोलीबीचको प्रत्यक्ष भेटको नतिजालाई प्राथमिकतामा राखिएको छ। यदि दुई वा बढी टोलीको अंक बराबर भए उनीहरूबीचको खेलको नतिजा वरीयताको आधार बन्नेछ। त्यसपछि मात्र ती खेलको गोल अन्तर र गोल संख्या हेरिनेछ। त्यसबाट पनि नतिजा नआए समूहचरणका सबै खेलको गोलअन्तर, कुल गोल संख्या, पहेंलो तथा रातो कार्डको संख्या र अन्तिम अवस्थामा फिफा वरीयता निर्णायक बन्नेछ।

तेस्रो स्थानमा रहने टोलीहरूको प्रतिस्पर्धामा गोल अन्तर अत्यन्त महत्त्वपूर्ण बन्ने देखिएको छ। उत्कृष्ट आठ तेस्रो स्थानका टोली छनोट गर्दा सर्वप्रथम अंक हेरिनेछ। अंक बराबरी भए गोल अन्तर, त्यसपछि गोल संख्या, अनुशासनसम्बन्धी रेकर्ड तथा फिफा वरीयताको आधारमा निर्णय गरिनेछ। त्यसैले अब प्रत्येक गोलले टोलीको भविष्य निर्धारण गर्न सक्ने अवस्था सिर्जना भएको छ। स्कटल्यान्ड यसको राम्रो उदाहरण बनेको छ। विश्वकप इतिहासमा पहिलोपल्ट समूहचरण पार गर्ने लक्ष्यमा रहेको स्कटल्यान्डले पहिलो खेलमा हाइटीलाई १–० ले हराएको थियो। दोस्रो खेलमा मोरक्कोसँग १–० ले पराजित हुन पुग्यो।

अन्तिम खेलमा ठूलो अन्तरको हार टार्न सके स्कटल्यान्ड उत्कृष्ट तेस्रो स्थान प्राप्त गर्ने टोलीमध्ये एकका रूपमा नकआउट चरण पुग्न सक्ने सम्भावना बनेको हो। विश्वकपको विस्तारित संरचनाले विश्वकपलाई थप रोमाञ्चक बनाएको छ।

केही टोलीका लागि अन्तिम खेल जित्नु अनिवार्य हुनेछ। केहीका लागि हारको अन्तर कम राख्नु नै अर्को चरण पुग्ने आधार बन्न सक्छ। त्यसैले अब मैदानमा हुने प्रत्येक गोल, प्रत्येक अंक र प्रत्येक कार्डले समेत टोलीहरूको भविष्य निर्धारण गर्न सक्ने अवस्था सिर्जना भएको छ।

प्रकाशित: १० असार २०८३ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App