२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खेल

टेबल टेनिस लिग भदौ पहिलो साता

नेपाली टेबल टेनिसकै ठूलो घरेलु प्रतिस्पर्धाको रूपमा रहेको स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन तीन आगामी भदौको पहिलो साता हुने भएको छ।

विभिन्न देशका खेलाडीलाई अनुबन्धित गरी नेपाली क्लबहरूले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दै आएका छन्। नेपाल टेबल टेनिस संघको तत्त्वावधन र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा चार राष्ट्रका विदेशी खेलाडी सहभागी हुने च्याम्पियन्स लिगको तेस्रो सिजन हुन लागेको हो।

स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा २०८० सालदेखि यो प्रतियोगिता हुँदै आएको छ। यो एकेडेमी नवौंपल्ट नेपाल च्याम्पियन नविता श्रेष्ठले सञ्चालन गर्दै आएकी छन्। सोही एकेडेमीले नेपाली टेबल टेनिसमा उत्कृष्ट घरेलु प्रतियोगिताको रूपमा च्याम्पियन्स लिग गर्दै आएको छ।

आगामी भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता हुनेछ। बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै स्ट्याग च्याम्पियन एकेडेमीले प्रतियोगिताबारे जानकारी दिएको हो। यसपल्ट याला टेबल टेनिस, होप्स टेबल टेनिस एकेडेमी, एभिएम टेबल टेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, वर्ल्ड हाउस रेस्ट्रो, टप स्पिन टेबल टेनिस गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति गरी कुल १० क्लबहरूले उपाधिका लागि चुनौती प्रस्तुत गर्नेछन्। पछिल्ला संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरे पनि यसपल्ट टोलीको सहभागिता बढाइएको छ। एकेडेमीकी अध्यक्ष नविता श्रेष्ठले डिजिटल लाइटका साथै खेलस्थललाई आकर्षक बनाउँदै प्रतियोगिता आयोजना गर्ने बताइन्।

टेबल टेनिसको शक्ति राष्ट्र चीनका साथै भारत, पाकिस्तान र चाइनिज ताइपेईका खेलाडीले विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गर्नेछन्। हरेक टोलीमा एक महिला र पुरुष विदेशी खेलाडी रहनेछन्। पछिल्ला संस्करणको तुलनामा पुरस्कार राशि पनि बढाएर चार लाखबाट ६ लाख रूपैयाँ पुर्‍याइएको एकेडेमीका निर्देशक नविताले जानकारी दिइन्। लिगको विजेताले तीन लाखसहित रनिङ ट्रफी, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५ हजार रूपैयाँ प्राप्त गर्नेछन्।

बुधबार नै पत्रकार सम्मेलन मार्फत आयोजक च्याम्पियन्स एकेडेमीले तीन सहप्रायोजकहरू सामाजसेवी सुमन खड्गी, मेटल सेपर्स, मेटलवुड नेपाल, बागमती खेलकुद विकास परिषद्, डेल्टा अटोकोर्प, सेल्ट्रोन नेपाल प्रालि र कल मोबिलिटी प्रालिसँग सम्झौता गरिएको थियो। पहिलो संस्करणमा एभिएम र दोस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन भएका थिए। यसपल्ट भने विभागीय टोली समावेश गरिएको छैन।  

प्रकाशित: २९ श्रावण २०८२ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App