२४ पुस २०८२ बिहीबार
image/svg+xml
खेल

एलएएफसीको महत्त्वाकांक्षामा सन

सन हुङ मिनले सात वर्षअघि इङ्लिस प्रिमियर लिग क्लब टोटेनहम हट्सरको समर भ्रमणका क्रममा अमेरिकाको लस एन्जलसमा पहिलो पटक पुगेका थिए।

त्यतिबेला उनले लस एन्जलस एफसीको कोरियाली समर्थकसँग भेट गरे र सन् २०१८ को विश्वकपमा उत्कृष्ट गोल गरेबापत मेक्सिकन समर्थकले दिएको सोम्ब्रेरो (मेक्सिकन टोपी) पनि लगाए। सनले केही वर्षअघि लस एन्जलस र लस भेगासमा फेरि यात्रा गर्ने योजना बनाएका थिए, तर खेलमा हात भाँचिएपछि उनले त्यो महँगो यात्रा रद्द गर्नुपर्‍यो।

‘मैले सोचेको थिएँ कि फेरि कहिल्यै लस एन्जलस फर्किन्नँ। तर, आज म यहाँ छु,’ सनले हाँस्दै भने। आफ्नो उत्कृष्ट करियरको अर्को अध्याय लस एन्जलस एफसीसँग सुरु गर्दा यही सहरको आनन्द लिन धेरै समय पाउँछु भन्नेमा सन जानकार नै छन्।

‘म जित्न यहाँ आएको हुँ र त्यसका लागि राम्रो प्रदर्शन पनि गर्नेछु,’ सनले बुधबार भने, ‘निश्चित रूपमा सबैलाई रोमाञ्चक खेलमा देखाउनेछु। यहाँ फुटबल वा सकर के भन्छौं ? यसलाई रोमाञ्चक बनाउनेछु र सफल हुनेछौं भन्ने विश्वास छ।’

बिएमओ स्टेडियममा पत्रकार सम्मेलनबाट लस एन्जलसले विश्वचर्चित सनलाई औपचारिक रूपमा परिचय गरायो। जहाँ उनको तस्बिर पहिले नै स्टेडियमको मुख्य प्रवेशद्वारसँगै स्टेडियमभन्दा कयौं माइल टाढासम्म स्क्रिनमा देखाइएको थियो। ३३ वर्षे सन युरोपमा उत्कृष्ट व्यावसायिक करियर अगाडि बढाएका थिए। उनले टोटेनहममा दशक बिताएका थिए।

त्यसपछि उनी अर्को महादेशमा आएका छन्। ‘सपना साकार भयो। एलए राम्रो सहर हो,’ कालो र सुनौलो रङ भरिएको जर्सी नम्बर सात लगाएका सनले भने। सन् २०२७ सम्मको लागि सनले लस एन्जलससँग सम्झौता गरेका छन्। सनसँग दुईवटा सम्झौताका विकल्पहरू छन्, जसले उनलाई सन् २०२९ को जुनसम्म मेजर लिग सकर क्लबसँग राख्न सक्नेछ। लस एन्जलसले लियोनल मेसीपछि लिगको सबैभन्दा ठूलो हस्ताक्षरको रूपमा २० मिलियन डलरभन्दा बढी ट्रान्सफर शुल्क तिरेको छ। जुन सम्भवतः एमएलएसको रेकर्ड हो। ‘लिगमा क्लबका राम्रो स्थान बनाउन सकेसम्म मिहिनेत गर्नेछु,’ उनले भने।

एसियन फुटबल क्षेत्रका सबैभन्दा ठूला स्टार हुन्, सन। टोटेनहमसँग एक वर्षको सम्झौता बाँकी छँदा नै उनले लन्डन छाड्ने निर्णय गरेका हुन्। विश्वभरबाट प्रस्तावहरू पाएका थिए। तर, उनले एलएएफसीमा सामेल हुने निर्णय गरे। एलएएफसीका जनरल म्यानेजर जोन थोरिङ्टनसँग कुराकानीपछि उनी लस एन्जलस जाने निर्णयमा पुगेका थिए। आठ वर्षे क्लबको अन्तर्राष्ट्रिय ब्रान्ड र उत्तर अमेरिकाको सबैभन्दा सफल क्लब बन्ने महत्त्वाकांक्षामा सन जोडिएका छन्।

कोरियाबाहिर संसारको सबैभन्दा ठूलो कोरियाली जनसंख्या भएको सहरमा हो पनि हो यो। ‘यो मेरो पहिलो विकल्प थिएन,’ सनले भने, ‘तर जोनसँगको कुराकानीमा मेरो मन परिवर्तन भयो। उनले मलाई म कहाँ हुनुपर्छ भन्ने गन्तव्य देखाए। अहिले म यहाँ छु। म धेरै खुसी छु।’

सनले हाँस्दै ह्युगो लोरिसले पनि आक्रामक रूपमा यहाँ आउन प्रस्ताव गरेको उल्लेख गरे। लोरिससँग उनले लामो समय टोटेनहममा बिताएका थिए। उनै लोरिस पनि यसै क्लबका पहिलो रोजाइको गोलकिपर हुन्।  

प्रकाशित: २३ श्रावण २०८२ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App