४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

‘भक्त राना स्मृति बुद्धिचाल’को उपाधि सुमनलाई

टाइब्रेकका आधारमा सफलता निकाल्दै रौतहटका सुमन लामाले भक्त राना स्मृति र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि उचालेका छन् । बिहीबार सम्पन्न प्रतियोगितामा सुमन सर्वाधिक आठ अंक जोड्दै च्याम्पियन भएका हुन् । 

अखिल नेपाल बुद्धिचाल संघको आयोजनामा भएको दुईदिने प्रतियोगितामा काठमाडौंका सुमन र रुकुमका मिलन रोकाले समान आठ अंक जोडेका थिए । तर, राम्रो टाइब्रेकको आधारमा सुमन च्याम्पियन भए । सुमनले सर्वाधिक रेटेड (१८९३) खेलाडीका रूपमा यस प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । सोहीअनुरूपमा सुमनले उपाधि पनि जिते । सप्तरीका निखिल चौधरी तेस्रो, काठमाडौंका मणिराज डाँगी चौथो र सानुभाई महर्जन पाँचौं भए । यी तीनैले साढे सात अंक जोडे । 

तर, टाइब्रेकको आधारमा तीनजना क्रमशः तेस्रोदेखि पाँचौं स्थानमा रहे । प्रतियोगितामा शीर्ष पाँच स्थान प्राप्त खेलाडीले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र आठ हजार नगद पुरस्कार प्राप्त गरे । भक्तपुरका राजेश कक्षपति, काठमाडौंका दीपक महर्जन, झापाका मिसन दाहाल, मकवानपुरका फुर्बा लामा र धादिङका सुवासकुमार गुरुङ दशौं स्थानमा रहे । यी पाँचै खेलाडीले समान सात अंक बटुलेका थिए । तर, टाइब्रेकको आधारमा छैटौंदेखि दशौं स्थानमा रहे । यी सबैले समान ६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । महिलातर्फ मोरङकी शान्ति धिमाल टाइब्रेकको आधारमा च्याम्पियन भइन् ।

नवलपुरकी उज्भानी कडेंल दोस्रो र दनिसा पुरी तेस्रो भए । शान्ति र उज्भानीले समान पाँच अंक बटुलेका थिए । तर, टाइब्रेकमा आधारमा शान्ति पहिलो भइन् । दनिसाले चार अंक बटुलिन् । चितवनका सन्तोष गौतम बागमती र लुम्बिनी प्रदेशमा कुशल बेलबासे च्याम्पियन भए । कोशी प्रदेशमा प्रेम खड्का, गण्डकीमा सुशील सुवेदी, मधेशमा सचिनकुमार चौधरी, कर्णालीमा मुस्कान कार्की र सुदूरपश्चिममा लेखराज भट्टराई आ–आफ्ना प्रदेशमा पहिलो भए । भेट्रान (६० वर्षमाथि) मा जर्नादन श्रेष्ठ र ५५ वर्षमाथि भुवनेश्वर चौधरी पहिलो हुन सफल भए । उमेर समूहतर्फ यु–१८ मा विपिन घिमिरे, यु–१६ मा सुभनदीप थापा, यु–१४ मा विभव जोशी र यु–१२ मा आयान जोशी पहिलो भए ।

त्यस्तै यु–८ मा अंकुर पोखरेल र यु–१० उमेरसमूहमा आयम सुवेदी पहिलो भए । १८०० रेटिङमुनि राम कार्कीले सफलता पाउँदा १७०० रेटिङ मुनि कृष अधिकारी पहिलो भए । अनरेटेडमा भारतीय खेलाडी आदर्शराज पहिलो हुन सफल रहे । विजेतालाई नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अखिल नेपाल खेलकुद महासंघका इन्चार्ज दीपक कोइराला, खेलकुद महासंघका अध्यक्ष शिव कोइराला, महाकांल गाउँपालिकाकी उपमेयर डोल्मामाया गोले र अखिल नेपाल बुद्धिचाल संघका अध्यक्ष दीपेन राईलगायतले पुरस्कृत गरेका थिए ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले देशको परिवर्तनका लागि योगदान पुर्‍याउन व्यक्तित्वको सम्मानका लागि यस किसिमका आयोजनाले देश परिवर्तनमा विभिन्न क्षेत्रमा काम गरिरहेका व्यक्तिको लागि पनि प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । कुनै पनि खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि आर्थिक पाटोको हिसाबले पनि सहज नरहेको उनले उल्लेख गरे । आफूले यो प्रतियोगिता आयोजना गर्नका लागि प्रायोजन जुटाउन केही सहयोग गर्न पाउँदा गर्व महसुस भएको उनले बताए । 

दुईदिने प्रतियोगितामा दुई सय २१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजुको नेतृत्वमा उक्त प्रतियोगिताको भएको थियो । र्‍यापिड चेस प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा सञ्चालन भएको थियो ।

प्रकाशित: १२ भाद्र २०८२ २०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App