‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ मा वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका दिपेन्द्रसिंह ऐरी र महिलातर्फ कबड्डीका मानमती बिष्ट उत्कृष्ट घोषित भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको कार्यक्रममा ऐरी र बिष्ट उत्कृष्ट भएका हुन्।
पुरुषतर्फ भारोत्तोलक अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामी तथा महिलातर्फ दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी र फुटबलकी मिना देउवा मनोनयनमा परेका थिए।
यस्तै वर्ष प्रशिक्षक कबड्डीका विष्णुदत्त भट्ट, वर्ष युवा खेलाडी एथलेटिक्सका बिक्रम नाथ, सुदूरपश्चिम आइकन पुरुषतर्फ भारतोलनका अशोक भण्डारी र महिलातर्फ एथलेटिक्सका पुजा साउद भएका छन्।
यस्तै क्रिकेटका शेर मल्लले स्पेशल अवार्ड पाएका छन् भने लाइफटाइम एचिभमेन्ट अवार्ड मरणोपरान्त सुरेश हमाललाई प्रदान गरिएको छ।
अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) थियो भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्द्धकका रूपमा साथ दिएको थियो।
प्रकाशित: १९ असार २०८३ १८:५८ शुक्रबार





