५ मंसिर २०८३ शनिबार
image/svg+xml
खेल

सुदूरपश्चिमको विस्फोटक सुरुवात, ६ ओभरमै ६० रन

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा १५६ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक सुरुवात गरेको छ।

कीर्तिपुरमा जारी फाइनलमा सुदूरपश्चिमले पावरप्ले अर्थात् सुरुवाती ६ ओभरको समाप्तिमा विना विकेट ६० रन बनाएको छ।

सुदूरपश्चिमलाई जितका लागि अब बाँकी ८४ बलमा ९६ रन आवश्यक छ। हाल १०.०० को रनरेटमा ब्याटिङ गरिरहेको सुदूरपश्चिमको आवश्यक रनरेट ६.८५ मा झरेको छ।

सुदूरपश्चिमका लागि जर्ज मुन्सीले २४ बलमा ४ चौका र ३ छक्कासहित अविजित ४४ रन बनाउँदै आक्रामक पारी खेलिरहेका छन्।

उनलाई विकेटकिपर विनोद भण्डारीले १२ बलमा २ चौकासहित अविजित १४ रन बनाएर साथ दिइरहेका छन्। सुदूरपश्चिमले अतिरिक्त २ वाइड रन पाएको छ भने पछिल्ला ५ ओभरमा ४८ रन जोडेको छ।

लुम्बिनीका बलरहरूले हालसम्म सुदूरपश्चिमको साझेदारी तोड्न सकेका छैनन्। रुबेन ट्रम्पेलम्यानले २ ओभरमा २६, किशोर महतोले २ ओभरमा १५, अभिषेश गौतमले १ ओभरमा ११ तथा शेर मल्लले १ ओभरमा ८ रन खर्चिएका छन्।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, इशान पाण्डे, थरिन्दु रत्नायके, आरिफ शेख, सैफ जैब, दीपक बोहरा, हेमन्त धामी र अनिल खरेल ब्याटिङ गर्न बाँकी नै छन्।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

लुम्बिनीका लागि दिलीप नाथले ३१ बलमा ३ छक्काको मद्दतले सर्वाधिक अविजित ३९ रन जोडे। यस्तै कप्तान रोहित पौडेलले ३१ बलमा २ चौकासहित ३० रन, विकेटकिपर निरोशन डिकवेलाले १७ बलमा १ चौका र २ छक्कासहित २८ रन तथा अली शेखले १२ बलमा २ चौका र २ छक्कासहित २४ रन बनाए।

डार्सी सर्ट १८ बलमा ४ चौकासहित २१ रनमा आउट हुँदा आसिफ शेख १ र सन्दीप जोरा ४ रनमा पेभिलियन फर्किए भने ट्रम्पेलम्यान ४ रनमा अविजित रहे।

लुम्बिनीले अतिरिक्त ४ रन पाउँदा अभिषेश गौतम, शेर मल्ल र किशोर महतोले ब्याटिङ गर्न पाएनन्। लुम्बिनीले ५, ३५, ७४, १०८, ११४ र १४७ रनमा क्रमशः ६ विकेट गुमाएको थियो।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। यस्तै हेमन्त धामीले २३ रन, थरिन्दु रत्नायकेले २४ रन तथा कप्तान दीपेन्द्रसिंह ऐरीले २५ रन खर्चेर समान १-१ विकेट हात पारे।

अनिल खरेल  र इशान पाण्डे विकेटविहीन रहे।

प्रकाशित: ५ मंसिर २०८३ १९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App