लरेन स्टिनक्याम्पको शतक र कप्तान गेर्हार्ड इरास्मसको उत्कृष्ट ब्याटिङमा नामिबियाले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकालाई ६ विकेटले पराजित गरेको छ।
डलासमा मंगलबार भएको खेलमा अमेरिकाले दिएको २७८ रनको लक्ष्य नामिबियाले ४८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नामिबियाले ९ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो।
नामिबियाको जितमा स्टिनक्याम्पले ११४ बलमा ७ चौका र ३ छक्कासहित १०२ रन बनाए। कप्तान इरास्मसले १०२ बलमा ४ चौका र १ छक्काको मद्दतमा ९५ रन जोडे। शतकबाट पाँच रनले चुकेका इरास्मस र स्टिनक्याम्पले तेस्रो विकेटका लागि १४९ रनको महत्त्वपूर्ण साझेदारी गरे।
जन फ्राइलिंकले ३६ बलमा २९ रन बनाए। जेन ग्रिन २३ बलमा २८ रन र जे जे स्मिट दुई बलमा ८ रन बनाउँदै अविजित रहे। अमेरिकाका जसदीप सिंह, इशान आदिल, हसन खान र हरमित सिंहले एक-एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७७ रन बनाएको थियो।
अमेरिकाका शायन जहाँगीरले ६४ बलमा ४ चौका र ४ छक्कासहित अविजित ७३ रन बनाए। शेहान जयसूर्याले ९९ बलमा ९ चौका र २ छक्काको मद्दतमा ७६ रन जोडे। हरमित सिंहले ३४ बलमा २ चौका र ४ छक्कासहित अविजित ५४ रन बनाए। कप्तान मोनांक पटेलले ४० बलमा ३० रनको योगदान दिए।
नामिबियाका ज्याक ब्रासेल र म्याक्स हेइङ्गोले समान दुई विकेट लिए। बर्नार्ड स्कोल्ट्जले पनि दुई विकेट हात पारे भने जे जे स्मिटले एक विकेट लिए। शतक बनाएका स्टिनक्याम्प खेलको प्लेयर अफ द म्याच घोषित भए।
प्रकाशित: २८ आश्विन २०८३ १४:२४ बुधबार


-600x400.jpg)


