नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि विराटनगर किङ्ग्सको प्रशिक्षकमा श्रीलङ्काका पूर्वक्रिकेटर धम्मिका प्रसाद नियुक्त भएका छन्। टोलीले आगामी सिजनका लागि धम्मिकालाई पुनः मुख्य प्रशिक्षकका रूपमा निरन्तरता दिएको हो।
विराटनगरले धम्मिकालाई टोलीको प्रशिक्षणसँगै रणनीतिक योजनामा समेत महत्त्वपूर्ण जिम्मेवारी दिने बताएको छ। उनको नेतृत्वमा गत सिजन विराटनगरले प्रभावशाली प्रदर्शन गर्दै प्लेअफमा स्थान बनाएको थियो।
विराटनगर लिग चरणमा शीर्ष दुईभित्र रहेर क्वालिफायरमा प्रवेश गरेको थियो। क्वालिफायर–१ मा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि उसले फाइनल प्रवेशका लागि क्वालिफायर–२ खेल्ने अवसर पाएको थियो। तर, क्वालिफायर–२ मा लुम्बिनी लायन्ससँग रोकिएपछि विराटनगरको उपाधि यात्रा टुङ्गिएको थियो।
श्रीलङ्काका लागि उनले आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनमा २५ टेस्ट, २४ एकदिवसीय अन्तर्राष्ट्रिय र १४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। खेलाडीका रूपमा तीव्र गतिका बलर उनले प्रशिक्षकका रूपमा पनि विभिन्न टोलीसँग काम गरिसकेका छन्।
सन् २०२३ मा उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। धम्मिकाले ओमानको राष्ट्रिय टोलीसँग पनि बलिङ प्रशिक्षकका रूपमा काम गरेका छन्।
विराटनगरसँग पुनः जोडिन पाउँदा आफू उत्साहित रहेको उनले प्रतिक्रिया दिएका छन्। गत सिजन प्लेअफबाट बाहिरिँदाको अनुभवले टोलीलाई आगामी प्रतियोगिताका लागि थप दृढ बनाएको प्रशिक्षक धम्किाको भनाइ छ।
यस पटक टोलीले उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने र त्यसका लागि आफ्नोतर्फबाट पूर्ण प्रयास हुने उनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
आसन्न संस्करणको एनपिएल आगामी कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ।
प्रकाशित: २३ आश्विन २०८३ ०६:५३ शुक्रबार



-600x400.jpg)

