२७ वैशाख २०८३ आइतबार
image/svg+xml
खेल

वर्ष २०८२ मा खेलकुद: क्रिकेटको ऐतिहासिक छलाङ, अनिश्चित ‘१०औं राष्ट्रिय खेलकुद’

विसं २०८२ नेपाली खेलकुद क्षेत्रका लागि समग्रमा सुखद वर्ष बन्न सकेन। केही खेलले उल्लेखनीय सफलता हासिल गरे पनि समग्र रूपमा खेलकुद क्षेत्र अस्थिर रह्यो। कुनै खेलमा उपलब्धि देखिँदा कतिपय महत्त्वपूर्ण प्रतियोगिता भने आयोजना हुनै सकेनन्।

पछिल्लो समय अत्यधिक लोकप्रिय क्रिकेट यस वर्ष पनि नेपाली खेलकुदको केन्द्रमा रह्यो। फुटबलप्रति ठूलो आकर्षण भए पनि उचित वातावरण अभावका कारण यो वर्ष नेपाली फुटबल क्षेत्र निराशाजनक देखियो।

विशेषगरी, २०८१ मा आयोजना हुने भनिएको १०औं राष्ट्रिय खेलकुद २०८२ मा पनि हुन नसक्नु ठूलो कमजोरीका रूपमा देखियो।

क्रिकेटमय बन्यो वर्ष २०८२

नेपाली खेलकुदको कुरा गर्दा यो वर्ष पनि क्रिकेटले पुनः वर्चस्व कायम गर्‍यो। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नु वर्षकै सर्वोत्कृष्ट उपलब्धि हो।

यसका साथै घरेलु मैदानमा आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज प्रतियोगिताहरूले क्रिकेटको क्रेजलाई थप उचाइमा पुर्‍याए।

नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण अत्यन्तै भव्य रूपमा सम्पन्न भयो। नेपालमै पहिलो पटक फ्लडलाइटको प्रयोग गरी रात्रिकालीन समयमा खेलाइएको उक्त प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा समेत ठूलो चर्चा बटुल्न सफल भयो।

यसैगरी महिलातर्फ पनि क्रिकेटले ऐतिहासिक फड्को मारेको छ। नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक टी-२० विश्वकप ग्लोबल छनोट खेलेर नयाँ इतिहास रच्यो भने ब्लाइन्ड महिला क्रिकेट टोली विश्वकपको उपविजेता बन्न सफल भयो।

पुरुष टोलीले वेस्ट इन्डिजजस्तो बलियो र विश्वविजेता टोलीमाथि ऐतिहासिक जित निकाल्यो।

अनिश्चित ‘१०औँ राष्ट्रिय खेलकुद’

सफलताको शिखर एकातिर छ भने नेपाली खेलकुदको सबैभन्दा ठूलो र महत्त्वपूर्ण मानिने १०औँ राष्ट्रिय खेलकुदको अनिश्चितता अर्कोतिर छ।

कर्णाली प्रदेशमा आयोजना हुने तय गरिएको यो बृहत् खेलकुद महोत्सव २०८१ सालमा हुन नसकेपछि २०८२ मा सम्पन्न हुने अपेक्षा गरिएको थियो। तर, पटक-पटक मिति सारिँदा यस वर्ष पनि प्रतियोगिता आयोजना हुन सकेन।

वर्षौंदेखि तयारी गरिरहेका हजारौं खेलाडीको भविष्य र उनीहरूको मिहिनेतमाथि पानी फेरियो।

फुटबलमा निराशा

फुटबलप्रति आम नेपालीको ठूलो आकर्षण भए पनि उचित वातावरणको अभावमा वर्ष २०८२ नेपाली फुटबलका लागि अत्यन्तै निराशाजनक साबित भयो।

विशेषगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि यो वर्ष पनि ‘अभागी’ वर्षकै रूपमा रह्यो। महत्त्वपूर्ण प्रतियोगिताको उपाधि नजिक पुगेर पनि वञ्चित हुनुपर्ने नियति यस पटक पनि दोहोरियो।

एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओस र श्रीलंकामाथि फराकिलो र सानदार जित निकालेको नेपाल निर्णायक खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

यसका साथै, नेपाली फुटबलको प्रमुख घरेलु प्रतियोगिता मानिने ‘शहीद स्मारक ए डिभिजन लिग’ अझै अनिश्चित छ। पछिल्लो पटक २०७९/८० मा सम्पन्न भएको यस लिग त्यसयता स्थगितजस्तै अवस्थामा छ।

लिग सञ्चालन नहुँदा खेलाडीहरू बेरोजगार बन्दै विदेश पलायन हुन बाध्य भएका छन् भने फुटबलको वार्षिक क्यालेन्डर पूर्ण रूपमा अस्तव्यस्त बनेको छ।

मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि अखिल नेपाल फुटबल संघ (एन्फा) यस वर्ष विवादमा तानियो। विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट सम्भावित निलम्बनको चेतावनीदेखि राष्ट्रिय खेलकुद परिषद् राखेपद्वारा गरिएको निलम्बनको कारबाहीसम्मका घटनाले एन्फा आलोचित बन्यो।

एन्फाको निर्वाचन प्रक्रिया विवादित बन्दा पटक पटक मिति सार्नुपरेको थियो। साथै, क्लबहरूको निरन्तरको आन्दोलन र एन्फा मुख्यालयमा भएको तालाबन्दीले स्थिति झनै जटिल बनायो।

कराते र बक्सिङमा चमक

सामूहिक खेलहरूमा निराशा छाइरहँदा व्यक्तिगत खेलमा भने नेपालले सानदार उपस्थिति जनाएको छ। कराते खेलाडी एरिका गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उच्च राखिन्।

उनले मलेसियामा सम्पन्न कराते–१ सिरिज ‘ए’ मा स्वर्ण पदक, युथ लिगमा रजत, अष्ट्रेलियन ओपनमा स्वर्ण तथा प्रिमियर लिगमा कास्य पदक जितिन्। हालै सम्पन्न अर्को प्रतियोगितामा समेत रजत पदक हात पार्दै उनले आफ्नो लयलाई निरन्तरता दिएकी छन्।

यसैगरी, बक्सिङतर्फ चन्द्रबहादुर थापा मगरले ऐतिहासिक सफलता चुमेका छन्। उनले आईबीए मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जित्दै नेपाली खेलकुदमा नयाँ इतिहास रचेका हुन्। विश्व बक्सिङ च्याम्पियनसिपजस्तो ठूलो मञ्चमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन्।

भलिबल लिगको चर्चा

भलिबलतर्फ ‘एभरेस्ट महिला भलिबल लिग’ ले यस वर्ष निकै चर्चा परिचर्चा पायो। प्रतियोगिताको दोस्रो संस्करण सञ्चालन भइरहँदा बीचमै आन्दोलनका कारण खेलहरू रोकिन पुगेका थिए।

यद्यपि, पछि विवाद सुल्झाएर प्रतियोगिता पुनः सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गरियो। उत्कृष्ट प्रतिस्पर्धा देखिएको उक्त लिगको उपाधि कर्णाली यशविसले आफ्नो पोल्टामा पार्न सफल भयो।

समग्रमा विसं २०८२ नेपाली खेलकुदका लागि एक अस्थिर वर्ष बन्यो। क्रिकेटले दिएको खुसी र मार्सल आर्ट्सका व्यक्तिगत सफलतालाई छाड्ने हो भने खेलकुदको संस्थागत विकास, प्रतियोगिता आयोजनाको निरन्तरता र व्यवस्थापकीय स्थिरतामा नेपाली खेलकुद क्षेत्र अझै धेरै पछाडि रहेको वास्तविकतालाई यस वर्षले थप छर्लङ्ग पारेको छ।

प्रकाशित: ३० चैत्र २०८२ १४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App