जापानमा हुने २०औं एसियाली खेलकुदको तयारीका लागि सुरु गरिएको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण आइतबारदेखि पुनः सुचारु भएको छ।
नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यो आर्थिक वर्षका लागि मिसन–२६ को प्रशिक्षण भदौ १ गतेदेखि सुरु गरेको थियो तर आन्दोलनका कारण प्रशिक्षण प्रभावित हुन पुग्यो। राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जेनजी आन्दोलनले उत्पन्न परिस्थितिका कारण पाँच दिन प्रशिक्षण हुन नसकेको बताए।
‘आन्दोलनको दोस्रो दिन भदौ २४ गते पनि खेलाडीहरू बिहान प्रशिक्षणका लागि आएका थिए। आन्दोलनले गर्दा स्थिति असहज बन्दै गएपछि खेलाडी फर्किए,’ श्रेष्ठले भने, ‘त्यसपछि भदौ २९ गते (आइतबार) देखि प्रशिक्षण सुचारु भएको हो।’
विशेष प्रशिक्षणमा कराते, तेक्वान्दो (पारासहित), जुडो, बक्सिङ, एथलेटिक्स, महिला कबड्डी, महिला भलिबल, गल्फ र कुस्ती गरी ९ खेलका एक सय १० खेलाडी सहभागी छन्। प्रशिक्षण टोलीमा ४४ पुरुष र ६६ महिला छन्। ९ खेलका लागि १८ प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ।
जापानको आइची/नागोयामा हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेर १९औं एसियाली खेलकुद सम्पन्न भएलगत्तै जापान एसियाडका लागि विशेष प्रशिक्षण सुरु गरिएको थियो। कुनै पनि एसियाली खेलकुद सकिएलगत्तै आगामी संस्करणका लागि यति लामो तयारी प्रशिक्षण गरिएको पहिलो पटक हो। विशेष प्रशिक्षण २०८० साल माघ १५ गतेदेखि सुरु भएको थियो।
१९औं संस्करणको एसियाली खेलकुद सोही वर्षको असोज ६ देखि २१ गतेसम्म चीनको हाङझाउमा भएको थियो। यसपल्ट राखेपले १० खेलका खेलाडीलाई तयारी गराए पनि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले भने ३२ खेल आगामी एसियन गेम्समा दर्ता गराएको छ। बुधबार एनओसीले विज्ञप्ति जारी गर्दै नेपालबाट ३२ खेलका चार सय ३४ खेलाडी दर्ता गरिएको जनाएको थियो।
उक्त एसियन गेम्सका लागि खेलाडीहरूको संख्या निर्धारण गर्ने अन्तिम मिति मंगलबार नै रहेकाले प्रक्रिया पूरा गरिएको एनओसीका महासचिव राजीव श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ तर राखेप र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्य र समन्यवबिना नै रहेको एनओसीले उक्त प्रक्रिया पूरा गरेको हो।
विधान संशोधन र निर्वाचनका विषयलाई लिएर विवाद हुँदा अहिले नेपालमा समानान्तर रूपमा दुईवटा एनओसी छन्। यसै कारण जीवनराम श्रेष्ठको नेतृत्वको एनओसीलाई सरकारले मान्यता दिएको छैन। जसका कारण एनओसीले संघको सिफारिसकै आधारमा खेल र खेलाडी संख्या दर्ता गराएको हो। एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुँदै छ।
प्रकाशित: ३ आश्विन २०८२ ०७:३२ शुक्रबार





