स्पेनिस फुटबल क्लब टेनेरिफका फरवार्ड जिसस डे मिगेलको विपक्षी टोलीका गोलकिपरसँगको ठक्करपछि निधन भएको छ। सोमबार भएको दोस्रो डिभिजनको खेलका क्रममा गम्भीर घाइते भएका ३० वर्षीय डे मिगेलको उपचारका क्रममा मृत्यु भएको हो।
टेनेरिफ र एन्डोराबीचको खेल २–२ को बराबरीमा चलिरहेको थियो। निर्धारित समय सकिएपछि थपिएको सातौँ मिनेटमा बल नियन्त्रण गर्ने प्रयास गर्दा डे मिगेल एन्डोराका गोलकिपर जिसस ओवोनोसँग ठोक्किएका थिए। ठक्करका क्रममा ओवोनोको घुँडा उनको छातीमा लागेको थियो।
घटनापछि डे मिगेल मैदानमै ढलेका थिए। रेफ्रीले तत्कालै ओवोनोलाई रातो कार्ड देखाएका थिए भने खेलाडीहरूले मेडिकल टोली बोलाएर उनको उपचार गराएका थिए। घटनापछि खेलसमेत स्थगित गरिएको थियो।
स्पेनिस सञ्चारमाध्यमका अनुसार अस्पताल लैजाने क्रममा एम्बुलेन्समै डे मिगेललाई हृदयाघात भएको थियो। उनलाई सान्ता क्रुजस्थित नुएस्ट्रा सेनोरा डे क्यान्डेलेरिया विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। तर उनको ज्यान जोगाउन सकिएन।
डे मिगेलको निधनपछि टेनेरिफ क्लबले मंगलबार शोक वक्तव्य जारी गर्दै उनलाई गुमाउनुपर्दा आफूहरू गहिरो पीडामा रहेको जनाएको छ। क्लबले परिवार, आफन्त र समर्थकप्रति समवेदना व्यक्त गरेको छ।
सन् २०१५ मा लेगानेस बीबाट व्यावसायिक फुटबल सुरु गरेका डे मिगेलले स्पेनका विभिन्न आठ क्लबबाट खेलिसकेका थिए। सन् २०२३–२४ को सिजनमा १६ गोल गर्दै आफ्नो टोलीलाई दोस्रो डिभिजनमा बढुवा गराउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। सन् २०२५ मा उनी तीन वर्षको सम्झौतासहित टेनेरिफमा आबद्ध भएका थिए।
प्रकाशित: १७ कार्तिक २०८३ १९:५० मंगलबार





