सोमबार राति डेब्युटान्ट केप भेर्डेसँग प्रतिस्पर्धा गर्दा स्पेनको लक्ष्य फिफा विश्वकप २०२६ मा सानदार सुरुआत गर्ने हुनेछ। समूह ‘एच’ अन्तर्गतको यो खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ।
ला रोहाले केप भेर्डेपछि समूह चरणमा साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ। लुइस डे ला फुएन्टेको नेतृत्वमा रहेको स्पेनलाई फ्रान्ससँगै उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको छ। फुएन्टेकै नेतृत्वमा स्पेनले युरोपियन च्याम्पियनसिप २०२४ को उपाधि जितेको थियो, जहाँ फाइनलमा उसले इङ्ल्यान्डलाई पराजित गरेको थियो।
स्पेन विश्वकप २०१० को च्याम्पियन हो। तर पछिल्ला तीन विश्वकप टोलीका लागि सम्झनलायक रहेनन्। उपाधि रक्षाको योजना बनाएर मैदान उत्रिएको स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो। त्यसपछि २०१८ र २०२२ मा टोलीको यात्रा अन्तिम १६ सम्ममै सीमित रह्यो।
विश्वकपअघि स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरूमाथि ३–१ को जित हासिल गरेको थियो। पछिल्ला १० खेलमा स्पेन अपराजित छ भने तीमध्ये ७ खेलमा जित निकालेको छ। समूह विजेताको प्रमुख दाबेदार मानिएको स्पेनले यदि केप भेर्डेको चुनौती पार गर्न नसके त्यो सबैका लागि ठूलो आश्चर्य हुनेछ।
केप भेर्डे र स्पेन अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक आमनेसामने हुँदैछन्। कागजमा यी दुई टोलीबीचको स्तरमा ठूलो अन्तर देखिन्छ।
अफ्रिकी राष्ट्र केप भेर्डेले क्याफ छनोटमा क्यामरुनलाई पछि पार्दै विश्वकप यात्रा तय गरेको थियो। स्पेनविरुद्धको खेल केप भेर्डेका लागि ऐतिहासिक हुनेछ, किनकि यो उसको पहिलो विश्वकप खेल हो।
बुबिस्ताको नेतृत्वमा रहेको केप भेर्डेले पछिल्ला तीन अन्तर्राष्ट्रिय खेलमा लगातार जित निकालेको छ। गत महिना सर्बियालाई ३–० ले हराएको टोलीले विश्वकपको पूर्वसन्ध्यामा बर्मुडालाई पनि सोही नतिजामा पराजित गरेको थियो।
केप भेर्डे स्पेनको गुणस्तरबारे पूर्ण जानकार छ। त्यसैले टोलीको लक्ष्य कम्तीमा उत्कृष्ट ‘सेकेन्ड रनर्सअप’ बन्दै अर्को चरण पुग्ने रहनेछ। बढीमा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा स्थान बनाउन सक्ने सम्भावना देखिन्छ, किनकि स्पेन जति बलियो देखिए पनि अन्य प्रतिद्वन्द्वी उरुग्वे र साउदी अरेबियामा केही कमजोरी देखिएका छन्।
स्पेनपछि केप भेर्डेले जुन २१ मा उरुग्वेसँग खेल्नेछ। त्यसको पाँच दिनपछि उसको भेट साउदी अरेबियासँग हुनेछ।
विंगरद्वय लामिन यामाल र निको विलियम्स इन्जुरी समस्याबाट मुक्त हुँदै पूर्ण प्रशिक्षणमा फर्किएको एक हप्ता भइसकेको छ। यद्यपि केप भेर्डेविरुद्ध प्रशिक्षक फुएन्टेले यी दुईलाई बेन्चबाट खेल सुरु गराउने सम्भावना पनि छ।
ओसासुनाका बहुपयोगी खेलाडी भिक्टर मुनोज पनि ‘मस्कुलर ओभरलोड’ का कारण पहिलो रोजाइमा नदेखिने सम्भावना बढी छ। त्यसैले सोमबार फरवार्ड लाइनमा फरान टोरेस, एलेक्स बेइना र मिकेल ओयारजाबाललाई पहिलो रोजाइमा देख्न सकिन्छ।
फुएन्टेले टोटनहम हटस्परका पेड्रो पोरोलाई राइट ब्याक तथा मिडफिल्डमा फाबियन रुइज, रोड्री र पेड्रीलाई पहिलो रोजाइमा खेलाउने अनुमान गरिएको छ।
केप भेर्डेमा भने फिटनेस वा इन्जुरीको कुनै समस्या छैन। रायन मेन्डेज टोलीका सर्वाधिक गोलकर्ता हुन्। ९७ खेलमा उनले २२ गोल गरेका छन्। ३६ वर्षीय विंगर मेन्डेज अन्तर्राष्ट्रिय करिअरकै सबैभन्दा ठूलो खेल खेल्दैछन्।
यस्तै, मंगलबार बिहान साउदी अरेबियाले उरुग्वेको सामना गर्नेछ। यो खेल बिहान ३ः४५ बजे सुरु हुनेछ।
प्रकाशित: १ असार २०८३ १६:३१ सोमबार




-600x400.jpg)
