१७ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

पीएसजीबाट एट्लेटिको म्याड्रिडमा पुगे दक्षिण कोरियाली स्टार ली काङ–इन

दक्षिण कोरियाका प्रतिभाशाली मिडफिल्डर ली काङ–इन फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) छाड्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका छन्।

एट्लेटिको म्याड्रिडले शनिबार लीसँग जुन २०३१ सम्मका लागि सम्झौता भएको पुष्टि गरेको हो।

क्लबले स्थानान्तरण शुल्क सार्वजनिक नगरे पनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको ट्रान्सफर रकम ३५ देखि ४० मिलियन युरोको बीचमा रहेको अनुमान गरिएको छ।

२५ वर्षीय ली दक्षिण कोरियाका प्रमुख खेलाडीमध्ये एक हुन्। उनले विश्वकपमा दक्षिण कोरियाका तीनै समूह चरणका खेल खेलेका थिए। यद्यपि, टोली दुई हारसँगै समूह चरणबाटै बाहिरिएको थियो।

इन्चोनमा जन्मिएका ली १० वर्षको उमेरमै स्पेन पुगेका थिए र भ्यालेन्सियाको प्रतिष्ठित एकेडेमीमा प्रशिक्षण थालेका थिए। उनले भ्यालेन्सियाको सिनियर टोलीबाट ६२ खेल खेलेपछि मालोर्कामा उत्कृष्ट प्रदर्शन गरे।

त्यसपछि सन् २०२३ मा पीएसजी पुगेका उनले दुई सिजनमा १२४ खेल खेल्दै १६ गोल गरेका थिए।

अब लीले एट्लेटिको म्याड्रिडको जर्सीमा नयाँ चुनौती सामना गर्नेछन्। गत सिजन ला लिगामा चौथो स्थानमा रहेको एट्लेटिको कोपा डेल रे फाइनलसम्म पुगेको थियो।

क्लबले एमएलएसतर्फ प्रस्थान गरेका कप्तान तथा सर्वकालीन सर्वाधिक गोलकर्ता एन्टोइन ग्रिजम्यानको अनुपस्थितिमा सिर्जनात्मक भूमिका पूरा गर्न लीबाट ठूलो अपेक्षा गरेको छ।

लीको आगमनसँगै एट्लेटिकोको आक्रमण र मिडफिल्ड अझ सन्तुलित र प्रभावकारी बन्ने विश्वास क्लबले लिएको छ।

प्रकाशित: १० श्रावण २०८३ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App