नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले उत्कृष्ट कप्तानी इनिङ्स खेल्दै मात्र २७ बलमा अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले दिएको १८७ रनको बलियो लक्ष्य पछ्याइरहेको कर्णालीले १७.४ ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको छ।
जितका लागि कर्णालीलाई अब अन्तिम १४ बलमा २३ रन मात्र आवश्यक छ।
संकटको स्थितिमा क्रिजमा आएका कप्तान सोमपालले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ४ चौका र २ छक्काको मद्दतले ५० रन जोडेका छन्। उनी १८५.१८ को उत्कृष्ट स्ट्राइक रेटमा ब्याटिङ गर्दै अविजित छन्।
उनलाई अर्का विष्फोटक अलराउन्डर गुलशन झाले उत्कृष्ट साथ दिइरहेका छन्। गुलशन १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रन बनाएर खेलिरहेका छन्।
यसअघि ५७ रनमै ५ विकेट गुमाएर हारतर्फ धकेलिएको कर्णालीलाई सोमपालले पहिले पवन सर्राफ (३६ रन) सँग मिलेर ६६ रनको साझेदारी गर्दै उकासेका थिए।
त्यसपछि गुलशनसँग मिलेर तीव्र गतिमा रन बटुल्दै उनले टोलीलाई जितको संघारमा पुर्याएका हुन्।
यस खेलमा बलिङतर्फ पनि ४ विकेट लिएका सोमपालले ब्याटिङमा समेत अर्धशतक प्रहार गर्दै अलराउन्ड प्रदर्शन गरेका छन्। यसअघि विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो।
प्रकाशित: १२ कार्तिक २०८३ २०:३० बिहीबार


-600x400.jpg)


