नेपाल नम्बर एक खेलाडी प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार प्रदीप पुरुषमा र शिभाली महिलामा च्याम्पियन भएका हुन्। दुवै यस विधामा पहिलोपल्ट च्याम्पियन भएका हुन्। नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको गत वर्ष पहिलो संस्करणमा पुरुष/महिला सिंगल्स स्पर्धा थिएन।
प्रदीपले पुरुष सिंगल्सको फाइनलमा प्रणव मानन्धरलाई ६–३, २–६ र ६–२ ले हराए। यससँगै प्रदीपले सिंगल्समा करियरको १७औं उपाधि चुमे। डबल्समा उनले ९ उपाधि हात पारेका छन्। राजवीर प्रधान र निसान श्रेष्ठ तेस्रो भए। महिला फाइनलमा शिभालीले स्वस्तिका विष्टसँग यसअघि बेहोरेको हारको बदला लिइन्।
उनले स्वस्तिका विष्टलाई ६–० र ६–२ ले हराइन्। शिभाली यु–१६ सिंगल्सको फाइनलमा स्वस्तिकासँग पराजित भएकी थिइन्। सिनियरमा शिभाली समग्र दोस्रोपटक च्याम्पियन बनेकी हुन्। प्रकृति श्रेष्ठ र सुनियर थापा तेस्रो बने। पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले समान पाँच हजार नगद पुरस्कार हात पारे। यु–१२ ब्वाइज सिंगल्समा विश्वविशेष डल्लाकोटी पहिलो भए। उनले फाइनलमा वेदान्त चालिसेलाई ७–५ र ६–४ ले हराए। यसै स्पर्धाको गल्र्समा सारा पन्त पहिलो भएकी थिइन्। साराले दोहोरो स्वर्ण पदक नै जितेकी थिइन्।
उनी यु–१४ सिंगल्समा पनि पहिलो भएकी हुन्। साराले फाइनलमा एरा खत्रीलाई ६–२ र ६–० को सोझो सेटमा हराइन्। यु–१४ ब्वाइज सिंगल्समा साङ्गे रोकाया सफल भए । उनले फाइनलमा वेदान्तलाई सीधा सेटमा ६–२ र ६–२ ले पन्छ्याउँदै स्वर्ण चुमे। सिंगल्सको यु–८ ब्वाइजमा सर्वज्ञजंग खत्री र गर्ल्समा स्वर्णिमा श्रेष्ठ, यु–९ र यु–१० को ब्वाइजमा कायान चालिसे र गर्ल्समा निम्ति कुँवर तथा यु–१६ ब्वाइज सिंगल्समा दर्शिल श्रेष्ठले पहिलो स्थान हात पारेका थिए। विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मूल र होटल मिस्टिक माउन्टेनका अध्यक्ष बालकृष्ण ध्वजुलगायतले पुरस्कृत गरेका थिए।
पाँचदिने प्रतियोगिताको पुरुषमा एक सय ३६ र महिलामा ८३ खेलाडी सहभागी थिए। जुनियर टेनिस इनिसिएटिभ (जेटिआई) को संयोजनमा भएको प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ४२ हजार रुपैयाँ रहेको छ। प्रतियोगितामा विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जानकारी दिए।
प्रकाशित: २३ कार्तिक २०८२ ०७:१५ आइतबार





