पुसे मेला २०८२ को अवसरमा ताप्लेजुङको दोभान बजारमा हुने अन्तराष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा ७ टिम सहभागी हुने भएका छन् ।
आयोजक पुसे मेला सञ्चालन समिति तथा दोभान स्पोर्टिङ क्लवले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा सहभागी हुने ७ टिम सार्वजनिक गरेको हो । पुसे मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङवाङका अनुसार प्रतियोगितामा एक अन्तराष्ट्रिय टिम युनाईटेड एथलेटिक्स क्लव कोलकत्ता भारत समेत सहभागी हुनेछ ।
यसैगरी प्रतियोगितामा गतवर्षको बिजेता भोजपुर, संखुवासभा, ट्रेनिङ सेन्टर दमक झापा, मुकेश ममोरियल क्लव सिरिजङ्गा(ताप्लेजुङ), क्षेत्र नं ‘ख’ ताप्लेजुङ र बिराटनगर रानी(मोरङ)को टिम रहने भएको छ ।
भलिबल खेल संयोजक कृष्ण चोङवाङका अनुसार प्रतियोगिताको खेल तालिका मंसिर २९ गते सार्वजनिक गरिने भएको छ ।
पुसेमेला सञ्चालन समितिका सचिव गणेश कार्कीडोलीका अनुसार भलिबल प्रतियोगितमा बिजेता हुने टिमले नगद ३ लाख र उपबिजेता हुने टिमले १ लाख ७५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमी फाईनलमा पुगेका दुई टिमलाई सान्त्वना पुरस्कार स्वरुप प्रति टिम ५० हजार रुपैयाँ प्रदान गरिने पुसे मेला सञ्चालन समितिले जनाएको छ ।
उत्कृष्ट सर्भर,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट ब्लकर,उत्कृष्ट सेटर,उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीलाई जनही नगद ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ । सर्बोत्कृष्ट हुने खेलाडीलाई नगद ७ हजार रुपैयाँ तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई १ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजक पुसे मेला सञ्चालन समितिका अध्यक्ष चोङवाङले जानकारी दिए ।
प्रकाशित: २७ मंसिर २०८२ १९:२० शनिबार





