२५ श्रावण २०८३ सोमबार
image/svg+xml
खेल

यूएईलाई एक विकेटले हराउँदै स्कटल्यान्डको रोमाञ्चक जित

स्कटल्यान्डले आईसीसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (यूएई) माथि रोमाञ्चक एक विकेटको जित निकालेको छ।

यूएईले प्रस्तुत गरेको २३२ रनको लक्ष्य स्कटल्यान्डले ३९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो। स्कटल्यान्डले जितका लागि अन्तिम ओभरसम्म संघर्ष गर्नुपरेको थियो। पानीको कारण ४० ओभरमा घटाएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर २३१ रन बनाएको थियो। उसका लागि अदिब उस्मानीले शानदार शतक प्रहार गर्दै ११६ रन बनाए। उनको उत्कृष्ट ब्याटिङका कारण यूएईले स्कटल्यान्डसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा स्कटल्यान्डले पनि सुरुवातदेखि नै दबाबमा ब्याटिङ गर्‍यो। म्याथ्यु क्रसले ६६ रन र माइकल जोन्सले ४४ रन बनाएपछि स्कटल्यान्ड लक्ष्यतर्फ अघि बढेको थियो। तर मध्यक्रम र अन्तिमतिर लगातार विकेट गुमाउँदा खेल निकै रोमाञ्चक बनेको थियो।अन्तिम दुई ओभरमा स्कटल्यान्डलाई जितका लागि केही रन आवश्यक रहँदा यूएईका बलरले दबाब सिर्जना गरेका थिए। ३९औँ ओभरमा पनि स्कटल्यान्डले विकेट गुमाएपछि यूएई जितको नजिक पुगेको थियो।

तर अन्तिम क्षणमा ज्यास्पर डेभिडसनले धैर्यपूर्ण ब्याटिङ गर्दै खेल आफ्नो टोलीको पक्षमा पारे। ३९.३ ओभरमा रनआउटको अवस्थामा पुगे पनि डेभिडसनले त्यसपछि दुई रन जोड्दै अन्तिम बलअघिको बलमा चौका प्रहार गरे। उनको उक्त चौकासँगै स्कटल्यान्डले एक विकेटको रोमाञ्चक जित हात पार्‍यो।

प्रकाशित: २५ श्रावण २०८३ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App