ताप्लेजुङको फुङलिङमा स्वर्गीय पदमबहादुर गुरुङको दोस्रो स्मृति दिवसको अवसरमा हुने अन्तर क्लब स्तरीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ। आयोजक ताप्लेजुङ स्पोर्टिङ क्लवले बुधबार पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरेको हो।
खेल संयोजक दीपक गुरुङका अनुसार १४ टिम सहभागी हुने खेलमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगिता पुस ११ गतेदेखि सञ्चालन हुने क्लबले जनाएको छ। समूह ‘ए’ मा रहेको आयोजकको ‘ए’ विरुद्ध फुङलिङ–४ को साथीभाइ स्पोर्टिङ क्लब मैदानमा उत्रने छ।
यस्तै मनमाया स्पोर्टिङ क्लब थुकिमाले फुङलिङ नगरपालिका वडा नं १० को मिनि स्पोर्टिङ क्लब प्रतिद्वन्द्वी पाएको छ। नेपाल प्रहरी क्लब फुङलिङ र पिवाईसी क्लब फावाखोला आमनेसामने हुँदा तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को टिम ‘बाई रहने छ। समूह ‘बी’तर्फ गोर्खाली स्पोर्टिङ क्लब फुङलिङ नगरपालिका वडा नं १ को टोलीले कर्णसिंह सोनाम फुटबल क्लब फुनपा–५ संग पहिलो चरणको खेल खेल्ने छ।
पहिलो चरणमा कञ्चनजंघा फुङलिङ क्लबको भिडन्त फुनपा–९ को तमू स्पोर्टिङ क्लबसँग हुने छ। यस्तै नवप्रयास युनाईटेड क्लब फुनपा–९ ले केलाङ स्पोर्टिङ क्लब फुनपा–७ संग भिड्दा आयोजक ‘बि’भाग्यमानी ठहरिँदै अर्को खेलका लागि योग्य हुने छ। तमू ल्होसारको अवसर पारेर हुने प्रतियोगिताका विजेताले नगद १ लाख १५ हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक ताप्लेजुङ स्पोर्टिङ क्लबका अध्यक्ष मनिराज गुरुङले जानकारी दिए।
विधागततर्फ समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबले जनाएको छ। क्लबका संरक्षक तथा निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष देवराज गुरुङका अनुसार स्वर्गीय पदमबहादुर गाउँसमाजका सूचना सम्बाह, असल, कसैलाई भनी नबिझाउने, सक्रिय र कर्तव्यनिष्ठ व्यक्ति थिए। उनको स्मरणमा पदमबहादुरका दाजु र भाउजू तिलबहादुर र खिनमायाले प्रथम पुरस्कार प्रायोजन गरेको क्लबका व्यवस्थापक पब्लिक गुरुङले जानकारी दिए। उनका अनुसार स्वर्गीय पदमबहादुरका कान्छा छोरा र बूहारी क्रमशःफुराज र शान्तिला राई गुरुङले विधागततर्फको ३० हजारसहित ८५ हजार रुपैयाँ प्रायोजन गरेका छन्।
प्रतियोगिता अवधिको कुल खर्च १४ लाख ५० हजार रुपैयाँ अनुमान आयोजकको रहेको छ। समापनको दिन तमू ल्होसार पर्वको साँझ खेलमैदानमा वृहत्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। प्रतियोगिताका प्रचार तथा साँस्कृतिक संयोजक सूर्य तमू गुरुङका अनुसार साँस्कृतिक कार्यक्रममा मौलिक साँस्कृतिक कार्यक्रम, मौलिक लयमा आधारित लोक साँस्कृतिक तथा लोक दोहोरी कार्यक्रम सञ्चालन हुने छ। खेल तालिका सार्वजनिक कार्यक्रममा उपस्थित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू (गणेश)ले खेलकुद पहिचान बताउने माध्यम समेत भएकोले टोल समाजको पहिचानलाई सिङ्गो राष्ट्रसंग जोड्न यस्ता प्रतियोगिताहरू फलदायी हुने विश्वास लिए।
कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज), पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य सहितले खेलकुद प्रतियोगितालाई सफलताको शुभकामना दिएका थिए। निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष गुरुङ तमूहरुको ल्होसार पर्वको अवसरमा पुस १५ गते बिहान सद्भाव र्यालीसहित गुम्बा परिसरमा अन्य औपचारिक कार्यक्रम हुने जानकारी दिए। उनका अनुसार त्यहाँ पूजापाठसहितका कार्यक्रमहरू भने अघिल्लै दिनहरूबाट सुरु हुने छन्।
प्रकाशित: ९ पुस २०८२ १६:०९ बुधबार





