१ आश्विन २०८३ बिहीबार
image/svg+xml
खेल

सामसन र अभिषेकको आक्रामक ब्याटिङ, अफगानिस्तानमाथि भारतको सहज जित

सञ्जु सामसन र अभिषेक शर्माको आक्रामक ब्याटिङमा भारतले अफगानिस्तानलाई दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा सात विकेटले पराजित गरेको छ। जितसँगै भारतले तीन खेलको शृंखला एक खेल अगावै २-० ले आफ्नो पक्षमा पारेको छ।

दिल्लीस्थित अरुण जेटली रंगशालामा अफगानिस्तानले दिएको १६० रनको लक्ष्य भारतले १४.५ ओभरमै तीन विकेट गुमाएर पूरा गर्‍यो। सामसनले २१ बलमा ५७ रनको विस्फोटक इनिङ खेले। उनले आफ्नो इनिङमा चौका र छक्काको आकर्षक प्रयोग गरेका थिए।

अभिषेकले पनि १९ बलमा ३९ रन बनाएर भारतलाई सुरुवातमै आक्रामक अवस्थामा पुर्‍याए। उनले मोहम्मद नबीको बलिङमा तीन छक्का प्रहार गरे। सामसन र अभिषेकले पावरप्लेमै भारतको स्कोर ८२ रन पुर्‍याएपछि अफगानिस्तानमाथि दबाब बढेको थियो।

राशिद खानले सामसन र अभिषेकलाई लगातार दुई बलमा आउट गरे पनि त्यसबेलासम्म खेल भारतको नियन्त्रणमा पुगिसकेको थियो। त्यसपछि इशान किशनले अविजित रहँदै भारतलाई सहज जिततर्फ अघि बढाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा १५९ रन बनाएको थियो। कप्तान इब्राहिम जादरानले ३३ बलमा ३७ रन बनाए। सुरुवातमा भारतीय तीव्र गतिका बलर जसप्रित बुमराह र अर्शदीप सिंहले उत्कृष्ट बलिङ गर्दै अफगानिस्तानलाई खुल्न दिएनन्।

बुमराहले पहिलो ओभरमै मेडन राखे भने अर्शदीपले रहमानुल्लाह गुरबाजलाई शून्यमै आउट गरे। गुरबाज शृंखलाका दुवै खेलमा खाता खोल्न नसकी आउट भएका छन्।

भारतीय बलिङको दबाबबीच इब्राहिमले जोखिम मोलेर ब्याटिङ गरे पनि अफगानिस्तानले आठ ओभरमा एक विकेट गुमाएर ५१ रन मात्र बनाउन सकेको थियो। त्यसपछि ब्याटरहरूले आक्रामक खेल्ने प्रयास गर्दा नियमित अन्तरालमा विकेट गुमाउँदै गए।

भारतका नितिश कुमार रेड्डीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। रवि बिश्नोई र अक्षर पटेलले पनि महत्वपूर्ण विकेट लिए। अफगानिस्तानका लागि अन्तिमतिर राशिद खानले १६ बलमा २८ रन बनाएपछि टोली १५९ रनसम्म पुगेको थियो।

राशिदले १७औँ र १८औँ ओभरमा आक्रामक ब्याटिङ गर्दै क्रमशः १० र १६ रन जोडेका थिए। तर २०औँ ओभरमा अक्षर पटेलले उत्कृष्ट क्याच लिएपछि उनको आक्रामक इनिङ समाप्त भयो।

भारतले यसअघि पहिलो टी-२० पनि जितेको थियो। अब तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तान शृंखलामा सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ भने भारत क्लिन स्वीप गर्ने प्रयासमा मैदान उत्रनेछ।

प्रकाशित: ३१ भाद्र २०८३ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App