साफ यू-२० महिला च्याम्पियनसिपको निर्णायक खेलमा नेपाल आयोजक बंगलादेशविरुद्ध १-० ले पछि परेको छ।
ढाकास्थित बसुन्धरा किंग्स एरेनामा जारी खेलको पहिलो हाफमा नेपाल पछि परेको हो।
खेलको आठौं मिनेटमा नेपाली गोलकिपर अगाडि बढेको मौकामा बंगलादेशले खाली पोस्टमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएको हो।
सुरुवाती गोलले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाली टोलीमाथि दबाब बढेको छ।
यो खेलको नतिजाले नै प्रतियोगिताको उपाधि विजेताको टुङ्गो लगाउनेछ। उपाधि जित्नका लागि नेपाललाई आजको खेलमा जित्नैपर्ने बाध्यता छ।
जारी प्रतियोगितामा बंगलादेश एकमात्र अपराजित टोली हो। घरेलु टोलीले ५ खेलमा ५ खेल नै जितेको छ।
बंगलादेश १५ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। नेपालले भने ५ खेलमा ४ जित दर्ज गरेको छ। १२ अंक सहित नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ।
नेपाल बंगलादेशसँगको पहिलो खेलमा ३-२ गोल अन्तरले हारेको थियो। सो हारको बदला लिंदै उपाधि जित्ने अवसर नेपाली युवा टोलीलाई रहेको छ।
आज नेपालसँग जितको विकल्प छैन। तर, बंगगलादेशलाई भने उपाधि जित्न बराबरी नै प्रयाप्त हुनेछ। त्यसैले दबाबमा नेपाली टोली हुनेछ।
प्रकाशित: ५ श्रावण २०८२ १९:४८ सोमबार





