२२ मंसिर २०८२ सोमबार
image/svg+xml
खेल

रौतहट म्याराथनमा बाराका धावकहरूको वर्चस्व

<br>

विजयादशमीको अवसरमा रौतहटमा हरेक वर्ष आयोजना हुँदै आएको स्व. मनोज कुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिता को १४औँ संस्करणमा बाराका धावकहरूले वर्चस्व कायम गरेका छन्। सोमबार गरुडामा सम्पन्न ५ किलोमिटर दूरीको प्रतिस्पर्धामा ३९ जना सहभागीलाई पछि पार्दै चारमध्ये तीन वटा पुरस्कार बाराले जितेको हो।

कोल्हवी नगरपालिका–१०, बाराका रुपेश माझीले १६ मिनेट ०५ सेकेन्डमा दूरी पूरा गरी प्रथम स्थान हासिल गर्दै फ्रिज पुरस्कार प्राप्त गरे। सोही नगरपालिकाका सञ्जय चौधरीले १६ मिनेट ०७ सेकेन्डमा दूरी पार गरी साइकल पुरस्कार जिते। रौतहटको बौधीमाई नगरपालिका–१, पिपरियाका अशोक कुमार साह १६ मिनेट १५ सेकेन्डमा तृतीय भए भने बाराको करैयामाई गाउँपालिका–५, उमजनका शैलेश यादव १६ मिनेट २५ सेकेन्डमा चौथो हुँदै सान्त्वना पुरस्कार प्राप्त गरे।

कार्यक्रममा प्रमुख अतिथि रहेका मधेस प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। उनले आफू मुख्यमन्त्री बनेमा कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

रेडियो मधेस मसला एफएम गरुडाले आयोजना गरेको प्रतियोगिता रेडियो अध्यक्ष बृजकिशोर यादवको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा स्व. मनोज कुमार चौधरीकी पत्नी तथा गरुडा नगर उपप्रमुख पुनम कुमारी चौधरीले आफू जीवित रहुन्जेल प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाजसेवी, शिक्षक, व्यवसायी र राजनीतिकर्मीहरूको सहभागितामा सम्पन्न समापन कार्यक्रममा विभिन्न वक्ताहरूले स्व. चौधरीको योगदानबारे प्रकाश पार्दै म्याराथन प्रतियोगिता जिल्लाको पहिचान बनेको उल्लेख गरे।

प्रकाशित: १३ आश्विन २०८२ १७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App