पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक करियरको अन्तिम वर्षमा प्रवेश गरेको स्पष्ट संकेत दिएका छन्।
उनले आफूले फुटबलबाट बिदा लिएपछि पनि के गर्ने भन्ने विषयमा सबै योजनाहरू आन्तरिक रूपमा तयार भइसकेको खुलाए। भोग पत्रिकालाई दिएको अन्तर्वार्तामा रोनाल्डोले भने, ‘यो सायद मेरो फुटबलको अन्तिम वर्ष हो, र म एउटा शानदार विरासत छोड्न चाहन्छु।’ उनले थपे, ‘मेरो भविष्यको सबै नक्सा तयार पारिएको छ। मलाई व्यस्त राख्न धेरै कुराहरू छन्, त्यसैले केही एउटा कुरा मात्र भन्न गाह्रो छ।’
फुटबलबाट सन्यास लिएपछि आउने खाली समय र शून्यतालाई कसरी सदुपयोग गर्ने भन्नेबारे पनि उनले प्रष्ट पारेका छन्। ‘फुटबलले जीवनमा ठूलो खाडल छोड्न सक्छ, त्यसैले आफ्नो समयलाई विभिन्न तरिकाले भर्नुपर्छ। अब धेरै रमाइलो गर्ने, यात्रा गर्ने, प्याडल खेल्ने र हेर्ने योजना छ। २५ वर्षको धेरै त्याग र मेहनतपछि कमाएको कुराको आनन्द लिने समय आएको छ,’ उनले भने।
४१ वर्षीय रोनाल्डोको साउदी क्लब अल नासरसँगको सम्झौता सन् २०२७ सम्म रहेको छ। उनी सन्यासको नजिक पुगे पनि ठ्याक्कै कहिले बिदा लिने भन्नेबारे केही समयदेखि मौन रहँदै आएका थिए। हालै संयुक्त रूपमा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजित विश्वकपमा पोर्चुगल राउन्ड अफ १६ बाट बाहिरिएपछि उनको करियरको यो ठूलो अध्याय अन्त्यतर्फ उन्मुख देखिएको थियो।
स्पोर्टिङ सीपीबाट व्यावसायिक फुटबल सुरु गरेका रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। विशेषगरी रियल म्याड्रिडमा रहँदा उनले ४३८ खेलमा ४५० गोल गर्दै ऐतिहासिक कीर्तिमान बनाएका थिए।
५ पटक बालोन डी'ओर जितेका रोनाल्डोले आफ्नो निजी जीवन र परिवारलाई पनि अब पर्याप्त समय दिने बताएका छन्। उनले आफ्नी लामो समयदेखिकी पार्टनर जर्जिना रोड्रिगेजसँग हालै पोर्चुगलको कास्काइसस्थित आफ्नै निवासमा एक निजी समारोहबिच विवाह गरेका छन्।
उनका क्रिस्टियानो जुनियर, जुम्ल्याहा सन्तान इभा र माटियो, अलाना मार्टिना र बेला एस्मेराल्डा गरी पाँच सन्तान छन्। क्रिस्टियानो जुनियर पनि बुवाको विरासत थाम्न खेल क्षेत्रमा सक्रिय रहेका छन्।
प्रकाशित: १ भाद्र २०८३ ०८:०८ सोमबार





