१ भाद्र २०८३ सोमबार
image/svg+xml
धर्म/संस्कृति

वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम

नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौं महानगरपालिका–१ नागपोखरी र कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदहमा भक्तजनको लाम लागेको छ। नागपञ्चमीका अवसरमा त्यहाँ उपस्थित भक्तजनले पूजा, आराधना एवं दर्शन गरिरहेका छन्।  

नागपञ्चमीका अवसरमा वासुकिनाथ मन्दिर आज बिहान ३ः०० बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। वासुकिनाथ मन्दिरमा आज विशेष पूजा, आराधना गरिन्छ। मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजन लाम लागेका कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी दिए।

चान्द्रमासअनुसार श्रावण महिनाको तेस्रो सोमबार भएकाले आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लाम लागेको छ। सौरमासका सोमबार जस्तै नै आज पनि भक्तजनको लाम मन्दिर क्षेत्रमा रहेको उनले बताए। आज पनि पशुपति क्षेत्रमा बोल बम यात्रीको आगमन बढेको छ। बागमती नदीको शिरोभागस्थित सुन्दरीजलबाट शुद्ध जल ल्याएर आराध्यदेव भगवान् पशुपतिनाथलाई चढाउने भक्तजनको लाम लागेको पुरातत्व अधिकृत गौतमले बताए। कोषले आज पनि पशुपति क्षेत्रमा विशेष व्यवस्था गरेको छ।

नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम

काठमाडौं महानगरपालिका–१ नागपोखरीमा बिहानैदेखि नित्य पूजा, आराधनाका लागि पोखरी खोलिएको छ।

नित्य पूजा सकिएपछि भक्तजनलाई पूजा, आराधनाका लागि खुला गरिएको महानगरपालिका–१ का सदस्य रोशन श्रेष्ठले जानकारी दिए। यहाँ आज विशेष मेलाको आयोजना पनि गरिएको उनले बताए।

यसैगरी, कर्कोटक नागराजा र नागरानीको निवास रहेको टौदहमा पनि कीर्तिपुर र पाँगाका स्थानीयवासी बिहानैदेखि पूजा, आराधना गर्न भक्तजनको घुइँचो लागेको हो। बिहान नित्यपूजापछि टौदहमा भक्तजनका लागि खुला गरिएको स्थानीय उपेन्द्र नेपालले जानकारी दिए।

टौदहमा परम्परादेखि नै जल यज्ञ विधिबाट सबै  नाग नागिनीको पूजा, आराधना हुने गरेकामा २०७० सालपछि बन्द भएको थियो। विसं २०७२ मा एकपटक यो विधिबाट पूजाआजा गरिए पनि अबको पुस्ताले बिर्सने खतरा बढेको उनले बताए।

टौदहको व्यवस्थापन कर्कोटक नागराजा नागरानी व्यवस्थापन समाजले गर्दै आएको छ। यहाँ बिहानैदेखि आएका भक्तजनलाई पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको समाजले जनाएको छ।

प्रकाशित: १ भाद्र २०८३ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App