४ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

आयरल्यान्ड र इजरायललाई ड्रमा अलग राख्ने आग्रह अस्वीकार

युरोपेली फुटबल महासंघ (यूईएफए) ले राष्ट्रिय टोलीलाई प्रतियोगिताको ड्रमा एकअर्काबाट अलग राख्ने निर्णय सुरक्षा अवस्थालाई आधार बनाएर हरेक घटनालाई छुट्टाछुट्टै मूल्यांकन गरी गर्ने जनाएको छ।

आयरल्यान्डको फुटबल संघ (एफएआई) ले भविष्यका प्रतियोगिताको ड्रमा आयरल्यान्ड र इजरायललाई एकअर्कासँग नपार्न यूईएफएसँग आग्रह गरेको थियो। तर उक्त आग्रह स्वीकार नगरिएको एफएआईका प्रमुख कार्यकारी डेभिड कोरेलले शुक्रबार बताएका छन्।

गत फेब्रुअरीमा भएको नेसन्स लिगको ड्रमा आयरल्यान्ड र इजरायल एउटै समूहमा परेका थिए। यी दुई टोलीले सेप्टेम्बर २७ र अक्टोबर ४ मा खेल्ने तालिका छ। यूईएफएले शनिबार जारी गरेको विज्ञप्तिमा दुई टोलीलाई ड्रमा अलग राख्ने अनुरोध विभिन्न पक्षलाई ध्यानमा राखेर व्यक्तिगत रूपमा मूल्यांकन गरिने जनाएको छ।

‘दुई देशबीचको अवस्थाका कारण सुरक्षामा संरचनागत जोखिम देखिन्छ कि देखिँदैन भन्ने विषयलाई विशेष प्राथमिकता दिँदै यस्ता निर्णय गरिन्छ,’ यूईएफएले भनेको छ। साथै, प्रत्येक अवस्थालाई छुट्टाछुट्टै आधारमा सावधानीपूर्वक मूल्यांकन गर्दै सम्बन्धित तथ्य र घटनाक्रमको निगरानी गरिने पनि यूईएफएले जनाएको छ।

कोरेलका अनुसार एफएआईलाई आयरल्यान्ड र इजरायलबीच विगतमा प्रत्यक्ष द्वन्द्व नभएकाले भविष्यका ड्रमा दुवै टोलीलाई अनिवार्य रूपमा अलग राख्न नसकिने जानकारी दिइएको थियो।

प्रकाशित: ४ आश्विन २०८३ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App