७ भाद्र २०८३ आइतबार
image/svg+xml
खेल

ला लिगामा रियल मड्रिडको नाटकीय जित, आज बार्सिलोना र एट्लेटिकोको परीक्षा

स्पेनिस ला लिगाको नयाँ सिजनको सुरुवातमै रोमाञ्चक नतिजा देखिन थालेका छन्।

गएराति रियल मड्रिडले इन्ज्युरी समयको गोलमा एस्पान्योललाई २–१ ले हराउँदै विजयी सुरुवात गर्दा सेभिल्लाले एथलेटिक बिल्बाओमाथि ३–१ को प्रभावशाली जित निकाल्यो। भ्यालेन्सिया र सेल्टा भिगो भने गोलरहित बराबरीमा रोकिए।

रियलको जितमा जुड बेलिङ्घम र युवा स्ट्राइकर कार्लोस एस्पीले गोल गरे। बेलिङ्घमले नवौँ मिनेटमै अग्रता दिलाएका थिए। एस्पान्योलका एलेक्स कालात्राभाले बराबरी फर्काएपछि खेल कठिन बनेको थियो। तर अन्तिम मिनेटमा मैदान छिरेका एस्पीले निर्णायक गोल गर्दै रियललाई तीन अंक दिलाए। जोसे मोरिन्होको पुनरागमनमा रियलले पहिलो लिग खेलमै कठिन परिस्थितिबाट जित निकाल्नु विशेष बनेको छ।

यसअघि सेभिल्लाले एथलेटिक बिल्बाओलाई ३–१ ले पराजित गरेको थियो। यता भ्यालेन्सिया र सेल्टा भिगोबीचको खेलमा भने गोल हुन सकेन।

आज ला लिगामा ठूला क्लबहरुका खेल हुँदैछन्। एट्लेटिको मड्रिडले घरेलु मैदानमा भिल्लारियलको सामना गर्दा एल्चेले बार्सिलोनाको सामना गर्नेछ। यस्तै गेटाफे र रासिङ क्लबबीच पनि प्रतिस्पर्धा हुनेछ।

विशेषगरी बार्सिलोनाको खेलमा सबैको नजर हुनेछ। साविक विजेता बार्सिलोनाले पहिलो खेलमै जित निकाल्दै उपाधि रक्षा अभियान सुरु गर्न खोज्दा एल्चे भने घरेलु मैदानको फाइदा उठाउने लक्ष्यमा हुनेछ। एट्लेटिको र भिल्लारियलबीचको खेलमा पनि सबैको नजर रहेको छ।

रियलको कठिन तर रोमाञ्चक जितसँगै सुरु भएको ला लिगाको नयाँ सिजनमा आज बार्सिलोना र एट्लेटिकोले कस्तो सुरुवात गर्छन् भन्नेमा समर्थकको ध्यान केन्द्रित भएको छ।

प्रकाशित: ७ भाद्र २०८३ ०६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App