केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणी मेला शनिबार साँझदेखि सम्पन्न भएको छ। गत साउन १ गतेदेखि सुरु भएको सो मेला शनिबार सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले समापन गरेका हुन्।
सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई २०६६ भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो। घोषणा भएको दिन भएकाले शनिबार मन्दिरका चारैढोका खुलागरी दर्शनार्थीले मन्दिरभित्र प्रवेशगरी डोलेश्वरको शिलामा स्पर्श गरेरै पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए।
शनिबार बिहानैखि मन्दिरको चारवटै ढोका खुलागरी दर्शनको व्यवस्था गरिएको उनले जानकारी दिए। यस मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन मात्रै मन्दिरको चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र प्रवेश दिइ शिला छोएर पूजा गर्नेे व्यवस्था गरेको उनले बताए।
मेलाको ३८ दिने अवधिमा करिब रु एक करोड भेटी सङ्कलन भएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए। मेला अवधिभर करिब एक लाख भक्तजनले मन्दिरको दर्शन गरेको जानकारी दिँदै उनले यस अवधिमा ४० हजारभन्दा बढी भारतीय पर्यटकको आगमन भएको जानकारी दिए।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका डोलेश्वरको विकासमा निरन्तर लाग्दै आएको बताउँदै नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटनको विकासको केन्द्र बनाउने गरि शिव सर्किटको निर्माण गरिएको तथा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको बताए। मेला अवधिभर मन्दिरमा सन्ध्याकालीन आरती गरिएकाले साँझसमेत दर्शनार्थीको घुइँचो लाग्छ।
प्रकाशित: ७ भाद्र २०८३ ०६:२७ आइतबार





