काठमाडौं महानगरपालिका वडा नम्बर-१६ मा मंगलबारदेखि राष्ट्रियस्तरको र्यापिड चेस प्रतियोगिता सुरु भएको छ।
प्रतियोगिताको पहिलो दिन पाँच चरणका खेलहरू सम्पन्न भएका छन्। काठमाडौं स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट १३२ जना खेलाडी सहभागी छन्।
कुल २ लाख ५० हजार रुपैयाँभन्दा बढी पुरस्कार राशि रहेको यस प्रतियोगिताले बुद्धिचाल खेलको विकास र नयाँ प्रतिभा पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ।
प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरपालिका वडा नम्बर-१६ की वडाध्यक्ष रोजिना श्रेष्ठले गरेकी थिइन्। कार्यक्रम काठमाडौं स्पोर्ट्स एकेडेमीका अध्यक्ष तथा नेपाल बुद्धिचाल महासंघका पूर्वउपाध्यक्ष नारायण गमालको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रम सञ्चालन काठमाडौं जिल्ला सचिव तथा कार्यक्रम संयोजक अमित तामाङले गरेका थिए। यस्तै, नेपाल बुद्धिचाल महासंघको २०८१ सालको विशेष महाधिवेशनमा लोकतान्त्रिक समूहबाट उम्मेदवार तथा निकटतम प्रतिस्पर्धी रहेका प्रबिन बहादुर भडेलले प्रतियोगिताको प्राविधिक तथा व्यवस्थापकीय पक्षबारे जानकारी गराएका थिए।
प्रतियोगिताका बाँकी चरणका खेलहरू दोस्रो दिन सञ्चालन हुने र त्यसपछि समापन तथा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।
प्रकाशित: १७ कार्तिक २०८३ २२:०७ मंगलबार





