नेपालका राकेश सापकोटाले थाइल्यान्डमा भएको आठौं हिरोज तेक्वान्दो च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेका छन्।
पाटाया शहरस्थित चोनबुरीमा सम्पन्न च्याम्पियनसिपमा राकेशले यु–१८ उमेरसमूहमा स्पिड किक र ग्योरोगीमा स्वर्ण जितेका हुन्। उनले ग्योरोगीमा ५८ केजी तौलसमूहमा स्वर्ण जितेको नेपाली टोलीकी सदस्य मुना खवास मगरले जानकारी दिइन्।
प्रयान्सु सापकोटाले पनि स्वर्ण पदक दिलाए। उनले ग्योरागी ४८ देखि ५१ केजी तौलसमूहमा स्वर्ण पदक जितेका हुन्। उनले माउन्ट एभरेस्ट सेकेन्डर स्कुलबाट उक्त प्रतिस्पर्धा गरेका थिए। नेपालकै सशांक तामाङले पुम्सेमा रजत पदक जितेका थिए। उनले ११ वर्षमुनि पहेँलो पेटीमा एकल पुम्सबाट सफलता पाएका हुन्। नेपालले थप दुई कांस्य पदक पनि प्राप्त गर्यो।
जेमोस मगर र सिरिशा खनालले कांस्य पदक जितेका हुन्। जेमोसले पुम्से (९ वर्षमुनि) पहेंलो पेटी र सिरिशाले स्पिड किकमा सफलता पाए। यी पदक विजेता खेलाडी न्यु गोकर्णेश्वर तेक्वान्दोका हुन्। गोकर्णेश्वर डोजाङबाट पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये पाँच जनाबाट नै पदक प्राप्त भएको डोजाङ प्रमुख मुना खवासले जानकारी दिइन्। उक्त च्याम्पियनसिपमा नेपालकी मुना खवास निर्णायकको भूमिका पनि निर्वाह गरेका थिइन्।
प्रकाशित: १ भाद्र २०८२ ०६:२९ आइतबार

