पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि रक्षा गर्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व कायम राखेको छ।
हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा शनिबार राति भएको फाइनल खेलमा आर्सनललाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै फ्रान्सेली क्लबले लगातार दोस्रो पटक उपाधि जितेको हो। निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।
पीएसजीका वैकल्पिक खेलाडी लुकास बेराल्डोले पेनाल्टीमा गरेको गोल टोलीका लागि निर्णायक बन्यो। आर्सनलका डिफेन्डर गेब्रियलको प्रहार क्रसबारमाथिबाट बाहिरिएपछि पीएसजीको जित निश्चित भएको थियो।
यस जितसँगै पीएसजी च्याम्पियन्स लिगको इतिहासमा (सन् १९९३ को नयाँ संरचनापछि) उपाधि रक्षा गर्ने दोस्रो क्लब बनेको छ। यसअघि रियल म्याड्रिडले सन् २०१६ देखि २०१८ सम्म लगातार तीन पटक उपाधि जितेर यो कीर्तिमान बनाएको थियो। समग्र ७१ वर्षको युरोपेली इतिहासमा भने पीएसजी लगातार दोस्रो पटक च्याम्पियन बन्ने १० औँ टोली हो। १२ महिनाअघि म्युनिखमा इन्टर मिलानलाई ५-० ले हराएर पहिलो पटक च्याम्पियन्स लिग जितेको पीएसजीले यसपटक थप कडा चुनौतीको सामना गर्नुपर्यो।
२२ वर्षमा पहिलो पटक प्रिमियर लिग जितेको आर्सनल खेलको छैटौँ मिनेटमै काई हाभर्ट्जको गोलबाट अग्रता लिन सफल भएको थियो। आर्सनलका लियान्ड्रो ट्रोसार्डको प्रहार मार्क्विन्होसलाई लाग्दै हाभर्ट्जको नियन्त्रणमा पुगेको थियो, जसमा उनले उत्कृष्ट गोल गरे। हाभर्ट्ज दुई फरक क्लबबाट दुईवटा च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने चौथो खेलाडी समेत बनेका छन्।
पहिलो हाफमा आर्सनलको बलियो रक्षापंक्तिसामु पीएसजीले स्पष्ट अवसर बनाउन संघर्ष गर्यो। तर, खेलको ६५ औँ मिनेटमा क्रिस्टियन मोस्केराले पेनाल्टी बक्सभित्र ख्विचा क्वारत्स्खेलियालाई लडाएपछि पीएसजीले पेनाल्टी पायो। उस्मान डेम्बेलेले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा ल्याए। यो उनको सिजनको आठौँ गोल थियो।
त्यसपछि दुवै टोलीले आक्रामक खेल खेले। पीएसजीका क्वारत्स्खेलियाको प्रहार गोलपोस्टमा ठोकियो भने ८९ औँ मिनेटमा भिटिन्हाको प्रहार पनि बारमा लाग्यो। थप गोल हुन नसकेपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा आर्सनलका एबेरेची एजेले प्रहार चुकाउनुअघि पीएसजीका नुनो मेन्डेसको प्रहार आर्सनलका किपर रायाले बचाएका थिए।
यो जितसँगै पीएसजीका मुख्य प्रशिक्षक लुइस एनरिकेले प्रशिक्षकका रूपमा तेस्रो पटक च्याम्पियन्स लिग जितेका छन्। उनी बब पेस्ली, पेप ग्वार्डियोला, कार्लो एन्सेलोटी र जिनेदिन जिदानको क्लबमा सामेल हुँदै तीन पटक यो उपाधि जित्ने पाँचौँ प्रशिक्षक बनेका छन्। एनरिकेको नेतृत्वमा पीएसजीले अहिलेसम्म खेलेका छ वटै पेनाल्टी सुटआउटमा जित निकालेको छ।
‘म मिश्रित भावनामा छु। उत्साह, थकान- सबै कुरा छ। तर यो सिजनको सबैभन्दा राम्रो क्षण हो। हामी अझै पनि च्याम्पियन छौँ, लगातार दोस्रो पटक, यो अद्भुत छ,’ एनरिकेले खेलपछि भने, ‘यो गत वर्षको भन्दा बलियो छ किनभने हामीलाई खेल अघि नै थाहा थियो कि आर्सनल विरुद्ध खेल्नु कति गाह्रो हुनेछ। फाइनल एक वास्तविक लडाई थियो।’
सन् २०२४ मा आफ्ना स्टार स्ट्राइकर केलियन एमबाप्पे रियल म्याड्रिडमा गएपछि पनि पीएसजी सामूहिक खेलका कारण अझ बढी सन्तुलित र आक्रामक देखिएको छ। एमबाप्पे बिनाको आफ्नो पहिलो सिजन (२०२४-२५) मा पीएसजीले उनको अन्तिम सिजन (२०२३-२४) को तुलनामा सबै प्रतियोगिताहरूमा कुल ४४ गोल बढी गरेको छ। यस सिजन पीएसजीका २० फरक खेलाडीले गोल गरे। टोलीले यस सिजन प्रतियोगितामा सर्वाधिक ४५ गोल गर्दै सन् १९९९-२००० मा बार्सिलोनाले कायम गरेको कीर्तिमानसँग बराबरी समेत गरेको छ।
हारपछि आर्सनलका मिडफिल्डर डेक्लान राइसले निराशा व्यक्त गरे। ‘यो निराशाजनक छ। च्याम्पियन्स लिगको फाइनल पेनाल्टीमा हार्नु विनाशकारी छ। तर हामी समूहको रूपमा कति टाढा आइपुगेका छौँ भन्ने कुराबाट सकारात्मक दृष्टिकोण लिने प्रयास गर्छौँ। हामीले खेललाई पेनाल्टीमा पुर्यायौँ, यो लटरी जस्तै हो,’ उनले भने। आर्सनल फाइनलमा पेनाल्टीमा पराजित हुनुअघि यस सिजनको युरोपेली अभियानमा अपराजित रहेको थियो। एजेन्सी
प्रकाशित: १७ जेष्ठ २०८३ ०६:४८ आइतबार





