१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रपति रनिङ शिल्डको उपाधि तिलागुफाले जित्यो

कालीकोटको नरहरिनाथ गाउँपालिकामा सम्पन्न १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ मा तिलागुफा नगरपालिकाले पुनः उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ।

तिलागुफा नगरपालिकाले १५ स्वर्ण, ११ रजत र ५ कास्य गरी कुल ३१ पदक जित्दै शीर्ष स्थान हासिल गरेको हो। आर्थिक वर्ष २०८० यता लगातार तेस्रो पटक उपाधि जित्दै तिलागुफाले आफ्नो वर्चस्व कायम राखेको छ।

प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ३ कास्यसहित कुल १२ पदकसहित पलाँता गाउँपालिका दोस्रो हुँदा आयोजक नरहरिनाथ गाउँपालिकाले ३ स्वर्ण, १२ रजत र ९ कास्य गरी कुल २४ पदकका साथ तृतीय स्थान सुरक्षित गरेको छ।

यसैगरी पचालझरना गाउँपालिकाले ३ स्वर्ण जित्दा महाबै गाउँपालिकाले २ स्वर्ण, सान्नी त्रिवेणीले १ र खाँडाचक्र नगरपालिकाले १ स्वर्ण पदक प्राप्त गरेका छन्।

रास्कोट नगरपालिका र शुभकालिका गाउँपालिकाले भने स्वर्ण पदक जित्न सकेनन्। रास्कोटले २ रजत र ५ कास्यमा चित्त बुझाएको छ भने शुभकालिका पदकविहीन बनेको छ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहका करिब ५०० खेलाडीहरूको सहभागिता रहेको थियो।  

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी विभिन्न विधामा स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

प्रकाशित: ११ वैशाख २०८३ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App