तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको तयारी धमाधम भइरहेको छ । मिति तोकिन बाँकी रहेपनि आउँदो फागुनमा आयोजना गरिने गोल्डकपको व्यवस्थापन र टिम सम्पर्क भइरहेको छ ।
गोल्डकपका लागि सदरमुकामस्थित ठूलो टुँडिखेलमा दुबो रोपेर तयार पारिँदैछ । गत जेठदेखि नै दुबो रोपेर प्रतियोगिताका लागि मैदान नरम बनाउने काम भइरहेको आयोजक ओएसिस फुटबल क्लबले जनाएको छ । माटोको मैदानमा प्रतियोगिता आयोजना गर्दा खेलाडीलाई समस्या हुने भएपछि दुबो लगाइएको हो । क्लब सचिव रोशन राईले दुबो जगाउन दिनहुँ, सिँचाइ गर्ने, गहुँत, मल हाल्ने, आवश्यक ठाउँमा बालुवा हाल्नेजस्ता काम भइरहेको जानकारी दिए ।
‘यसपटक पोहोरभन्दा भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने तयारी हुँदैछ,’ उनले भने, ‘पहिलो काम त मैदान सजिलो बनाइएको छ, दिनहुँ मल र सिँचाइ गरेर दुबो जगाइएको छ, कटिङ र गोडमेल हुँदैछ ।’ ओएसिस र इलाम गोल्डकपको आयोजक माइभ्याली फुटबल क्बलले मैदान मर्मत गरिरहेका हुन् । अहिलेसम्म करिब ८ लाख रुपैयाँ खर्च भइसकेको राईले बताए ।
उनले गतवर्षभन्दा यो वर्ष उत्कृष्ट टिमसमेत ल्याउने तयारी भइरहेको पनि जनाए । ‘साफ च्याम्पियनसिप खेल्ने टप ४ टिमलाई ल्याउन सम्पर्क गरिरहेका छौं,’ उनले भने, ‘भुटानको ट्रान्सपोर्ट युनाइटेड आउने पक्का भएको छ, बंगालदेशको टप टिमसँग सम्पर्क भइरहेको छ, केही प्राविधिक समस्या समाधान भए त्यो टिम आउनेवाला छ ।’ नेपालका पनि उत्कृष्ट टिम आउने उनले जनाए । पुरस्कार राशि पनि गतवर्षभन्दा केही बढाउने उनको भनाइ छ । गतवर्ष विजेतालाई नगद ४ लाख र उपविजेतालाई २ लाख रुपैयाँ दिइएको थियो । प्रतियोगिताका लागि आर्थिकलगायत अन्य व्यवस्थापनका काम धमाधम भइरहेको राईले जनाए ।
दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको थियो । अर्काे विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको थियो । पहिलो संस्करण भारतीय पाहुना टोली मानेभञ्ज्याङले जितेको थियो । पोहोर त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, मानेभञ्ज्याङ, भारत उत्तर प्रदेशको मदर टेरेसा क्लब, ओखलढुंगाको पद्मा स्पोर्टिङ, बाग्मती युथ क्लब र आयोजक सहभागी थिए । पोहोर साल यो प्रतियोगितामा हजारौं दर्शक सहभागी भएका थिए भने प्रतियोगिता देशभर निकै चर्चित बनेको थियो ।
प्रकाशित: २३ मंसिर २०८२ १६:४७ मंगलबार





