नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
आउँदो सोमबार, मङ्सिर १ गतेदेखि सुरु हुने प्रतियोगिताको सबै तयारी सकिएको क्यानका महासचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
मङ्सिर २७ गतेसम्म चल्ने यो प्रतियोगिता पहिलोपटक फ्लडलाइटमा समेत आयोजना हुनेछ।
प्रतियोगिताको विजेता टोलीले पुरस्कार स्वरूप एक करोड १० लाख प्राप्त गर्नेछ। त्यसैगरी, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख तथा चौथो स्थानमा रहने टोलीले १५ लाख पाउनेछन्।
एनपीएलको दोस्रो संस्करणमा कुल आठ फ्रेञ्चाइज टोलीको सहभागिता रहनेछ। उद्घाटन खेल पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ।
गत वर्ष सम्पन्न पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो।
प्रकाशित: २९ कार्तिक २०८२ १५:१८ शनिबार





