नेपालको घरेलु कोर्टमा तेस्रोपल्ट आयोजना हुन लागेको काभा महिला भलिबल च्याम्पियनसिपको तयारी पूरा भएको छ।
नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा आगामी जेठ आठदेखि १५ गतेसम्म काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप हुँदै छ।
उक्त च्याम्पियनसिपमा नेपालसहित आठ राष्ट्रले चुनौती प्रस्तुत गर्दै छन्। संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो। साथै सोही अवसरमा च्याम्पियनसिपको ट्रफी पनि सार्वजनिक गरिएको थियो। भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र राखेपका आर्थिक प्रशासन प्रमुख रिखिराम पोख्रेलले ट्रफी सार्वजनिक गरेका थिए। यस संस्करणमा श्रीलंका, बंगलादेश, किर्गिस्तान, भारत, उज्बेकिस्तान, काजकिस्तान र माल्दिभ्सले चुनौती प्रस्तुत गर्नेछन्।
च्याम्पियनसिपका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आयोजक नेपालसँगै भारत, किर्गिस्तान र माल्दिभ्स छन्। समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगितालाई लक्षित गर्दै नेपाल भलिबल संघले २० खेलाडीलाई समेटेर बन्द प्रशिक्षण सुरु गरिसकेको छ। चैत ५ गतेदेखि प्रशिक्षण सुरु गरेका थियो। गत साता सम्पन्न दसौं प्रधानमन्त्री कप एनभिए लिगका कारण प्रशिक्षण केही समय प्रभावित भएको थियो। राष्ट्रिय टोलीको तयारी पुनः सुरु भइसकेको छ।
गत वैशाख २० गते चार जना बाहिरिएका छन् भने अहिले टोलीमा १६ सदस्यमा झारिएको छ। यस च्याम्पियनसिप खेल्ने अन्तिम टोली (१४ सदस्यीय) आगामी जेठ गते छनोट हुनेछ। यस प्रतियोगिता नेपालमा तेस्रो पटक हुँदै छ। नेपालले पाँच पटक सहभागिता जनाइसकेको छ। नेपाल दुईपल्टको च्याम्पियन हो।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले यसपल्ट पनि च्याम्पियन हुने लक्ष्यसहित तयारी गरिएको बताएका छन्। उनले टोलीमा पुराना र नयाँ युवा खेलाडीको समिश्रण रहेको उल्लेख गरेका छन्। अनुभवी र युवा जोसले भरिएको टोलीबाट राम्रो नतिजा निकाल्ने उनको आशा छ । नियमित कप्तान तथा सेटर अरुणा शाही राष्ट्रिय टोलीमा छैनन्।
उनीसँगै अर्का महत्त्वपूर्ण खेलाडी पुनम चन्द पनि टोलीमा छैनन्। दुवै हाल अस्ट्रेलिया पलायन भइसकेका छन्। नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्दै यस च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ। सोही दिन किर्गिस्तान र माल्दिभ्सबीच तथा इरान र बंगलादेशबिच प्रतिस्पर्धा हुने तालिका छ। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल जेठ १५ गते आयोजना हुनेछ। लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै संघले आएको उल्लेख गर्दै घरेलु मैदानमा यस प्रतियोगिता आयोजनाले नेपाली महिला भलिबलको विकास र विस्तारमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
यस प्रतियोगिताको नतिजा अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को विश्व वरीयतामा समेत समावेश हुने बताइएको छ। संघले प्रतियोगिता आयोजना गर्न विभिन्न सरकारी निकाय, सहयोगी संस्था तथा सञ्चारमाध्यमबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै प्रतियोगिताको व्यापक प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरेको छ। प्रतियोगिताको कुल अनुमानि बजेट २ करोड ५० लाख रहेको छ।
प्रकाशित: २८ वैशाख २०८३ ०६:३४ सोमबार





