१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

पोर्चुगल भर्सेस स्पेनः महाकुम्भमा महाभिडन्त

फिफा विश्वकप २०२६ को महाकुम्भमा सोमबार राति ‘इबेरियन डर्बी’ मा दुई फुटबल महारथी पोर्चुगल र स्पेन आमनेसामने हुँदैछन्।

अमेरिकाको डलास स्टेडियममा राति पौने एक बजे सुरु हुने यस महाभिडन्तलाई क्वार्टरफाइनल प्रवेशको लडाइँ मात्र नभई दुई फरक पुस्ताका खेलाडीहरूको प्रतिष्ठाको लडाइँका रूपमा पनि हेरिएको छ।

एकातिर ४१ वर्षीय फुटबल लेजेन्ड क्रिस्टियानो रोनाल्डो आफ्नो सम्भवतः अन्तिम विश्वकपमा चम्किने दाउमा छन् भने अर्कोतिर स्पेनका १८ वर्षीय उदीयमान स्टार लामिन यमाल आफ्नो गति र जादुमय खेलले विपक्षीलाई स्तब्ध पार्ने योजनामा छन्।

लुइस डे ला फुएन्टेको प्रशिक्षणमा रहेको स्पेन जारी विश्वकपमा आक्रामक र रक्षात्मक दुवै हिसाबले अभेद्य देखिएको छ। समूह ‘एच’ को विजेता बनेको स्पेनले राउन्ड अफ ३२ मा अस्ट्रियामाथि ३-० को फराकिलो जित निकालेको थियो।

प्रतियोगितामा अहिलेसम्म एउटा पनि गोल नखाएको स्पेनका गोलकिपर उनाई सिमोनले लगातार ५१९ मिनेट गोल नखाई ३६ वर्ष पुरानो विश्वकप कीर्तिमान तोडिसकेका छन्।

स्पेन पछिल्ला ३४ अन्तर्राष्ट्रिय खेलहरूमा अपराजित रहेको छ। यो उसको ३५ खेलको ऐतिहासिक अपराजित कीर्तिमानको नजिक हो।

अर्कोतर्फ, समूह ‘जे’ को उपविजेता बनेर नकआउट पुगेको पोर्चुगलले राउन्ड अफ ३२ मा क्रोएसियाविरुद्ध १-० ले पछि परेको स्थिति उल्टाएर २-१ को सङ्घर्षपूर्ण जित निकालेको थियो। सो खेलमा रोनाल्डोको पेनाल्टी र गोन्सालो रामोसको निर्णायक हेडर गोलले पोर्चुगललाई अन्तिम १६ सम्म डोर्‍याएको हो।

रोनाल्डोले सन् २००६ मा विश्वकपमा डेब्यु गर्दा स्पेनका यमाल जन्मिएकै थिएनन्। अहिले यमाल आफूभन्दा झन्डै दोब्बर उमेरका दिग्गजसँग भिड्न तयार छन्।

रोनाल्डोका लागि यो करियरको अन्तिम विश्वकप हुन सक्ने र उनले सन्न्यास लिन सक्ने चर्चा व्यापक छ। उनी मेसीजस्तै आफ्नो अन्तर्राष्ट्रिय करियरको उत्तरार्धमा विश्वकप ट्रफी उचाल्न चाहन्छन्। यद्यपि, रोनाल्डोको लय केही खस्केको र उनी पेनाल्टी बक्सभन्दा बाहिर खासै प्रभावकारी नदेखिएको विश्लेषकहरूको मत छ।

यता, चोटपछि लयमा फर्किएका १८ वर्षीय यमाल स्पेनका लागि मुख्य हतियार बनेका छन्। अस्ट्रियाविरुद्ध ‘म्यान अफ द म्याच’ बनेका यमालले भनेका छन्, ‘हामीलाई कसैको डर छैन, हामी स्पेन हौं। हाम्रो विश्वकप अब सुरु भयो।’

स्पेन र पोर्चुगलबीचको खेलमा सबैको ध्यान रोनाल्डो र यमालमा केन्द्रित हुँदा स्पेनका २९ वर्षीय फरवार्ड मिकेल ओयार्जाबाल ‘साइलेन्ट किलर’ बन्न सक्ने अनुमान गरिएको छ।

उनलाई स्पेनिस सञ्चारमाध्यमले ‘एन्टी रोनाल्डो’ भनेका छन्, किनभने उनी सुपरस्टारडमबाट टाढा रहेर टिमका लागि खेल्न रुचाउँछन्। ओयार्जाबालले जारी विश्वकपमा ४ गोल गरिसकेका छन् भने पछिल्ला १६ सुरुवाती खेलमा १७ गोलको आँकडा छोएका छन्।

अस्ट्रियाविरुद्धको खेलमा विपक्षी डिफेन्डरको आँखा छलेर उनले दुई गोल गरेका थिए।

पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले बल नियन्त्रणमा राखेर नै रक्षात्मक रणनीति अपनाउने बताएका छन् भने स्पेनका प्रशिक्षक डे ला फुएन्टेले उच्च दबाब र तीव्र गतिमा खेल्ने सङ्केत दिएका छन्।

दुवै टोलीको बल पोसेसनमा आधारित खेल्ने शैली भएकाले खेलको नतिजा मिडफिल्डको लडाइँमा निर्भर हुनेछ। स्पेनका रोड्री र पेड्रीको जोडीविरुद्ध पोर्चुगलका भिटिन्हा, जोआओ नेभेस र ब्रुनो फर्नान्डेस मैदानमा उत्रिनेछन्।

सन् १९२१ यता यी दुई टोली ४१ पटक आमनेसामने भएका छन्। स्पेनले १८ खेल जितेको छ भने पोर्चुगलले ७ खेलमा मात्र जित निकालेको छ। १६ खेल बराबरीमा सकिएका छन्।

विश्वकपको इतिहासमा पछिल्लो पटक सन् २०१८ मा यिनीहरूबीच समूह चरणमा ३-३ को रोमाञ्चक बराबरी भएको थियो। त्यस खेलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए।

ओप्टा सुपरकम्प्युटरका अनुसार आजको खेलमा स्पेनको जित्ने सम्भावना ४९.२ प्रतिशत र पोर्चुगलको २५.६ प्रतिशत रहेको छ।

खेल अतिरिक्त समयमा जाने सम्भावना २५.२ प्रतिशत अनुमान गरिएको छ। आजको खेलको विजेताले क्वार्टरफाइनलमा अमेरिका वा बेल्जियममध्ये एकसँग शुक्रबार लस एन्जलसमा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २२ असार २०८३ २१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App