कास्कीको पोखरा युनाइटेडले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिताको उपाधि चुमेको छ।
रुपन्देहीमा सम्पन्न फाइनलमा पोखरा युनाइटेडले न्युटन कलेज काठमाडौंलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो।
उपाधिसँगै पोखरा नगद एक लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो। उपविजेता न्यूटन भने नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो।
देविनगरस्थित न्यु होराईजन खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा न्युट्रलले चुनौती दिए पनि सफल हुन सकेन। पोखरा युनाइटेड कास्कीले पहिलो सेट २५–२१ र दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा राख्यो।
तर तेस्रो सेट भने आफ्नो बनाउँदै न्युटन खेलमा संकेत गर्यो। न्यूटनले तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा राख्यो। पोखरा चौथो सेटबाटै लयमा फर्कियो। यो सेट पोखराले २५–२० ले आफ्नो बनाएपछि न्युटनको लक्ष्य पूरा हुन सकेन।
प्रतियोगितामा मणिमुकुन्द कलेज तेस्रो भयो। मणि मणिमुकुन्दले नगद ३० हजार रुपैयाँ र कप प्राप्त गर्यो। न्यु होराईजन स्कुल सान्त्वना स्थान हासिल गर्दै नगद १५ हजार रुपैया प्राप्त गरे।
प्रतियोगितामा पोखराका लोपसोन सुनार बेष्ट प्लेयर घोषित भए। उनी नगद १० हजार रुपैयाँ र ट्रफीबाट पुरस्कृत भए।
न्यूटनका अभिषेक बिक बेष्ट स्पाईकर, पोखराका दिलिप रेश्मीमगर बेष्ट लिबेरो, न्युटनका दिप्सन शाही ठकुरी बेष्ट ब्लकर, पोखराका सुप्रिम भुजेल बेष्ट सेटर, मणिमुकुन्दका महेश नेपाली बेष्ट सर्भर, पोखराका निशान नेपाली बेष्ट अपोजित हिटर र पोखराका टहलसिह थापा बेष्ट कोच घोषित भए। उत्कृष्ट सबैले जनही नगद ५ हजार रुपैया र ट्रफी पाए।
विजेतालाई एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, जिल्ला भलिबल संघका अध्यक्ष सुरेन्द्र शाक्य, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, जनप्रतिनिधि नहकुल शाही र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले पुरस्कार वितरण गरे।
प्रकाशित: २ असार २०८३ १२:४० मंगलबार





